११ बैशाख २०८३, शुक्रबार

स्टार्टअपको ‘जग’ बसाल्न अमेरिकी सेन्टरको स्किलअप पहल, कानुनदेखि करसम्मका गुरुमन्त्र सिक्दै युवा उद्यमी

काठमाडौं । काठमाडौंस्थित अमेरिकी सेन्टर (अमेरिकन सेन्टर) ले नेपालका नवोदित उद्यमी तथा स्टार्टअप सञ्चालकहरूका लागि ‘स्किलअप’ शृङ्खलाको छैटौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। “लन्च राइट: लिगल, इथिकल एण्ड स्ट्रक्चरल फाउन्डेसन्स फर स्टार्टअप्स” शीर्षकमा आयोजित उक्त सत्रलाई नेपालभरिका अमेरिकी स्पेसहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

कार्यक्रममा डेल्टा ल फर्मका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं अमेरिकी आदानप्रदान कार्यक्रमका पूर्वविद्यार्थी (एलुमनाई) बाबुराम अर्यालले प्रमुख प्रशिक्षकको रूपमा सहभागीहरूलाई मार्गदर्शन गरेका थिए। उनले स्टार्टअप व्यवसाय सञ्चालनका क्रममा अत्यावश्यक मानिने कानुनी अनुपालन, कर प्रणाली, व्यावसायिक नैतिकता र सामाजिक उत्तरदायित्व जस्ता विषयहरूमा व्यावहारिक ज्ञान प्रदान गरे।

अमेरिकी दूतावासका अनुसार, यस सत्रले सहभागीहरूलाई व्यवसाय दर्तादेखि नैतिक निर्णय क्षमतासम्मका व्यावहारिक औजारहरू प्रदान गरेको छ, जसले उनीहरूलाई थप बलियो र दिगो व्यावसायिक अभियान निर्माण गर्न सहयोग पुर्याउनेछ। विज्ञहरूद्वारा सञ्चालित यस्ता सत्र र प्रयोगात्मक सिकाइमार्फत ‘स्किलअप’ शृङ्खलाले नेपालको आउँदो पुस्ताका उद्यमीहरूलाई सशक्त बनाउँदै नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ गर्नुका साथै दुवै देशलाई लाभान्वित गर्ने आर्थिक अवसरहरूको सिर्जना गरिरहेको बताइएको छ।

‘स्किलअप’ शृङ्खला अन्तर्गत विगतमा पनि विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। यसले नेपाली युवा उद्यमशीलताको विकास र दुई देशबीचको ज्ञान आदानप्रदानलाई थप सघन बनाउँदै लगेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button