उपसभामुखमा रुवी कुमारीको उम्मेदवारी, कांग्रेस-एमाले र रास्वपाको साझा समर्थनमा निर्वाचन आज

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बिहीबार उम्मेदवारी दर्ता गराएकी छन्। संघीय संसद सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो।
रुवी कुमारीको प्रस्तावकमा सांसद आर्यन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी तथा श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी निरौला रहेको संसद सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै उपसभामुख पदमा आफ्नो उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेका थिए। नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले भनेका थिए, “कांग्रेस र एमालेले उपसभामुखमा उम्मेदवारी नदिने भएका छौं। श्रम संस्कृति पार्टीलाई सघाउने गरी छलफल भएको छ।” यद्यपि, अर्को घटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने यस विषयमा औपचारिक निर्णय गरिसकेको थिएन।
पछिल्लो घटनाक्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि रुवी कुमारीलाई नै समर्थन गर्ने निर्णय गरेको छ। रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पत्रकारहरूलाई जानकारी दिँदै पार्टीले रुवी कुमारीको उम्मेदवारीलाई समर्थन गर्ने बताएका थिए।
यसअघि रास्वपा र राप्रपाबीच पनि उपसभामुख पदका लागि संवाद भएको चर्चा चलेको थियो। तर अन्ततः सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरूबीच श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई समर्थन गर्ने सहमति जुटेको छ। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत राख्ने रास्वपाको समर्थनपछि रुवी कुमारीको निर्वाचन सुनिश्चित भएको छ।
संवैधानिक व्यवस्थाअनुसार, सभामुख र उपसभामुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने र दुवै फरक-फरक दलका हुनुपर्ने प्रावधान छ। रास्वपाबाट सभामुख निर्वाचित भइसकेको अवस्थामा उपसभामुख अर्को दलबाट हुनुपर्ने सांवैधानिक बाध्यता यस निर्वाचनबाट पूरा हुनेछ। उपसभामुखको निर्वाचन भोलि (शुक्रबार) हुने कार्यसूची रहेको छ।





