‘रवि लामिछाने आफैंले फोन गरेर सहमति जुटाएको हो’ राप्रपा नेता शाहीको दाबी, रास्वपाको दोहोरो भूमिकामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगकै सहमतिमा आफ्नो पार्टीले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएको दाबी गरेका छन्। बिहीबार राप्रपा सांसद सरस्वती लामाको उपसभामुखमा उम्मेदवारी दर्तापछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले यस्तो खुलासा गरेका हुन्।
शाहीले भने, “हामीले सबैसँग कुरा गरेर उम्मेदवारी दर्ता गराएको हो। स्वयं रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेको हो।” उनले थप स्पष्ट पार्दै भने, “रवि लामिछानेले फोन गरेको हो।”
यसैबीच, रास्वपाले भने श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवी कुमारीलाई समर्थन गर्ने निर्णय गरिसकेको सार्वजनिक भइसकेको छ। रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पत्रकारहरूलाई जानकारी दिँदै पार्टीले रुवी कुमारीको उम्मेदवारीलाई समर्थन गर्ने बताएका थिए।
यो विरोधाभासपूर्ण परिस्थितिबारे सोधिएको प्रश्नमा शाहीले रास्वपाप्रति लक्षित गर्दै भने, “उहाँहरूले त्यो राजनीति गर्नुहुन्छ भने गरुन्, मैले सत्य बोल्नुपर्छ।” उनले राजनीतिमा यस्ता तलमाथि हुने कुरा सामान्य भएको समेत टिप्पणी गरे।





