२६ चैत्र २०८२, बिहीबार

‘म भुँईको मान्छे, यति माथि पुर्याइयो’: उपसभामुखकी उम्मेदवार रुबी ठाकुरको भावुक अभिव्यक्ति, रास्वपाको समर्थनले ‘सरप्राइज’

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी २५ वर्षीया सांसद रुबीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताएकी छन्। बिहीबार संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले यो जिम्मेवारी पूरा गर्न आफू सक्षम रहेको आत्मविश्वास व्यक्त गरिन्।

रुबीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई समर्थन गरेर ‘सरप्राइज’ दिएको बताइन्। उनले भनिन्, “रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरूले पनि समर्थन गरेर सरप्राइज दिनुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। म मधेशकी छोरी हुँ, मधेशकी छोरीलाई अगाडि बढाउन उहाँहरूले सहयोग गर्नुभएको होला।”

युवा उम्मेदवार रुबीले आफ्नो पार्टी अध्यक्षप्रति पनि कृतज्ञता प्रकट गरिन्। उनले भनिन्, “म अध्यक्षज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुँईको मान्छेलाई यति माथिसम्म पुर्याउनुभयो। मैले कल्पना पनि गरेकी थिइनँ, यहाँसम्मका लागि। मलाई खुसी लागिरहेको छ।”

उनले जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै भनिन्, “मलाई अलि ठूलो जिम्मेवारी भयो, तर म सक्छु। म देशलाई चाहिने सबैथोक गर्छु, सधैं साथ दिन्छु।”

पहिलोपटक संसद् प्रवेश गरेको श्रम संस्कृति पार्टीकी सांसद रुबीको उम्मेदवारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र सत्तारुढ रास्वपासमेतले समर्थन गरेपछि उनको निर्वाचन लगभग निश्चित भएको छ। उपसभामुखको निर्वाचन शुक्रबारका लागि तय भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button