‘भेप’ भित्र लुकेको सुनको रहस्य खुल्यो, पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध साढे सात करोड बिगो दाबी गर्दै अख्तियारको विशेष अदालतमा मुद्दा

काठमाडौं । तीन वर्षअघि दुबईबाट विद्युतीय चुरोट (भेप) को आवरणमा भित्रिएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र तत्कालीन भन्सार प्रशासक अरुण पोखरेलसहित २८ व्यक्ति र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो कायम गरी बिहीबार मुद्दा दायर गरेको हो।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा के.सी., नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेशप्रसाद कोइराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोखरेलविरुद्ध एकमुष्ट साढे सात करोड बिगो दाबी गरिएको छ।
त्यस्तै, यही प्रकरणमा पूर्वसभामुख महरासहित राहुल भन्ने रेशम महरा, निर्मलकुमार वि.क., लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, नीमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हाङसङ र दाओजिङ वाङ, बेल्जियमका नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र डेस्कटर ट्राभल्स एन्ड टुर्स प्रालिलाई पनि सोही बराबरको बिगो दाबी गरिएको छ।
यो प्रकरण १० पुस २०७९ को घटनासँग जोडिएको छ। तस्करीमा संलग्न चिनियाँ गिरोहले दुबईबाट विद्युतीय चुरोट (भेप) को आवरणमा सुन भित्र्याएको थियो। दुबईको उडान नम्बर एफजेड ०५८७ बाट चिनियाँ राहदानी इजे ६३५००३० वाहक ली हसङले दुईवटा सुटकेसभित्र लुकाएर ७३ वटा बट्टामा सुन राखिएका भेपसहित काठमाडौं ओर्लिएका थिए। ७३ वटा बट्टामा ७३० वटा भेपमा लुकाएर तस्करले त्रिभुवन विमानस्थल हुँदै भन्सार गोदामसम्म सुन ल्याएका थिए।
भन्सारमा सामान शङ्कास्पद देखिएपछि त्यही दिन विमानस्थल भन्सार कार्यालयले सामान नियन्त्रणमा लिएको थियो। त्यसको केही दिनमै ली हसङ फरार भए। सुनका मालिक दावाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलमार्फत भन्सारमा रोकिएका सामान छुटाउन सक्रियता बढाएका थिए। अनुसन्धानका क्रममा महरा बाबुछोराले भन्सारका कर्मचारीसहित विभिन्न व्यक्ति र चिनियाँ तस्करसमेतलाई विभिन्न समयमा २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो।
भन्सार गोदाममा सिल गरेर राखिएका ती भेप पछि भन्सारकै कर्मचारी र बिचौलियासहितको सेटिङमा चोरी भएका थिए। चिनियाँले ल्याएको सुन भएको भेपमा अरू नै भेप राखिएको थियो। गोदामको सुरक्षार्थ खटिएका एक जना सुरक्षागार्डले सुन भएको भेप घरमा लिएर गएपछि मात्र भेपभित्र सुन लुकाएर ल्याएको तथ्य बाहिरिएको थियो।
गोदाममा राखिएका सुन भएका भेप चोरीमा अनुसन्धान गर्न विमानस्थल भन्सारले २६ वैशाख २०८० मा सीआईबीलाई पत्राचार गरेको थियो। त्यसपछि भन्सारका नासु रेवन्त खड्कासहित विभिन्न व्यक्तिहरू पक्राउ परे। खड्काले प्रहरीसँगको बयानमा ‘गोदाममा सुन भएका भेप भएको सुइँको पाएपछि आफूहरूकै योजनामा सुन भएका भेप निकालेर सक्कली भेप बाहिरबाट ल्याएर गोदाममा राखिदिएको’ बताएका थिए। दुई महिना लामो अनुसन्धानका क्रममा करिब १ सय ग्राम मात्र सुन फेला परेको थियो। बाँकी करिब ९ किलो सुन भन्सारका कर्मचारी र एजेन्टसहित मिलेर गायब पारेको खुलेको थियो।
दशक लामो माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय कृष्णबहादुर महरा शान्ति प्रक्रियापछि निरन्तर सत्ता र शक्तिमा रहे। गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेका उनी पछि उपप्रधानमन्त्रीसहित अर्थ, गृह, परराष्ट्रजस्ता शक्तिशाली मन्त्रालय र सभामुखसमेत बने। तर पहिलो संविधानसभा निर्वाचनलगत्तै चिनियाँसँग ‘नेपालमा सांसद खरिद बिक्रीका लागि’ रकम मागेको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका महरा जति शक्तिशाली पदमा पुगे पनि विवादबाट अलग हुन सकेनन्। २६ फागुन २०७४ मा प्रतिनिधिसभाको सभामुख बनेका उनी संसद् सचिवालयमै कार्यरत एक महिलामाथि बलात्कारको आरोपमा समेत मुछिएका थिए।
यसअघि सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २९ असोजमा दायर गरेको सुन तस्करीसम्बन्धी मुद्दामा महरा पुर्पक्षका क्रममा जेल चलान भएका थिए। जिल्लाको आदेशविरुद्ध उच्च अदालत गएका महरालाई ११ मंसिरमा २० लाख धरौटीमा रिहा गर्ने आदेश भएको थियो। ५ चैत २०८० मा पक्राउ परेका महरालाई स्वास्थ्यको कारण देखाउँदै ९ चैतमा हाजिरी जमानीमा रिहा गरिएको थियो। यही प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा अब उनीसहित २८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।





