श्रममन्त्रीको पदमुक्तिपछि स्वास्थ्यमन्त्रीलाई गराइयो ‘सचेत’, रवि लामिछानेकै सिफारिसमा कारबाही

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेको भोलिपल्टै प्रधानमन्त्री बालेन्द्र साहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन्। मन्त्रालयको काम गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्रीले मन्त्री मेहतालाई सचेत गराएका हुन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले यसबारे जानकारी दिँदै भनिन्, “गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाईसमेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गर्नुभएको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराइसक्नुभएको छ।”
यसअघि बिहीबार मात्र प्रधानमन्त्री शाहले श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए। साहले आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यको नियमित काममा लगाउन लबिङ गरेको र क्षेत्राधिकारबाहिर गएर विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई १३ दिनमै पदमुक्त गरिएको थियो।
स्वास्थ्य बिमा बोर्ड स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकाय भएकाले आफू मातहतको निकायमा जिम्मेवार भएर काम नगरेको र अनधिकृत व्यक्तिलाई बोर्ड सदस्यको रूपमा सक्रिय गराउन सहजीकरण गरेको आरोप मन्त्री मेहतामाथि लागेको छ। सोही कारण रास्वपा सभापति लामिछानेले मन्त्री मेहतालाई सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।
यो घटनाक्रमले सरकारभित्र मन्त्रीहरूको कार्यसम्पादन र अनुशासनप्रति प्रधानमन्त्री कार्यालय र सत्तारुढ दल दुवै गम्भीर रहेको सन्देश प्रवाह गरेको छ। श्रममन्त्रीलाई पदमुक्त र स्वास्थ्यमन्त्रीलाई सचेत गराउने यी दुई घटनाले बालेन्द्र साह नेतृत्वको सरकारले मन्त्रीहरूको कार्यशैलीमाथि कडा निगरानी राखेको स्पष्ट सङ्केत गरेको विश्लेषकहरूको भनाइ छ।





