२६ चैत्र २०८२, बिहीबार

मन्त्री भेट्न अब ‘गुगल फर्म’ भर्नुपर्ने, पर्यटन मन्त्रालयमा एक दिनअघि नाम दर्ता अनिवार्य, मोबाइल पनि निषेध

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री खडकराज पौडेल (गनेस) सँग हुने दैनिक भेटघाटलाई व्यवस्थित र मर्यादित बनाउन नयाँ कार्यविधि लागू गरेको छ। अब मन्त्रीसँग भेट गर्न चाहने जोकोही सर्वसाधारणले कम्तीमा एक दिनअघि नै मन्त्रालयको वेबसाइटमा उपलब्ध गुगल फर्म भरेर नाम दर्ता गराउनुपर्नेछ।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार, मन्त्रीसँगको भेटघाटको समय प्रत्येक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म मात्र निर्धारण गरिएको छ। तोकिएको समयसीमाभित्र मात्र भेटघाट सम्भव हुने भएकाले सेवाग्राहीहरूलाई समय व्यवस्थापनमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ।

भेटघाटका लागि इच्छुक व्यक्तिले गुगल फर्ममा आफ्नो नाम, ठेगाना, पद तथा कार्यरत निकाय, सम्पर्क नम्बर र भेटको उद्देश्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, भेटको विषय र मिति पनि अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले भेटघाटका विषयहरू मुख्यतः संस्कृति, पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित हुने जनाएको छ। यद्यपि अन्य विषयमा पनि भेट गर्नुपरेमा फर्ममा ‘अन्य’ शीर्षकअन्तर्गत विवरण दिन सकिने व्यवस्था मिलाइएको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार, यो निर्णयले मन्त्रीको दैनिक कार्यप्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै सेवाग्राहीलाई सहज र व्यवस्थित पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।

यसअघि मन्त्री पौडेलले आफूसँग भेट्न आउने व्यक्तिहरूले खिचेका तस्बिरहरूको दुरुपयोग नगर्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सूचना जारी गरेका थिए। उनले भेटघाटका क्रममा मोबाइललगायतका डिजिटल उपकरणहरू कार्यकक्षभित्र लैजान समेत पूर्ण रूपमा निषेध गरेका छन्। मन्त्री पौडेलको यो कदमले सरकारी कामकाजमा मर्यादा र पारदर्शिता कायम गर्ने प्रयासको रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button