संयुक्त राष्ट्रसङ्घको मञ्चमा रुस–चीन एकमत
इरान सङ्कटदेखि महासचिव चयनसम्म, बेइजिङ वार्तामा दुई शक्तिबीच 'रणनीतिक तालमेल' को सन्देश

बेइजिङ । विश्व राजनीतिको धुरी बनिरहेको संयुक्त राष्ट्रसङ्घको मञ्चमा रुस र चीनले आफ्नो सहकार्यलाई थप सशक्त बनाउने सङ्केत गरेका छन्। रुसी उपविदेशमन्त्री अलेक्जान्डर अलिमोभ र चिनियाँ सहायक विदेशमन्त्री काइ वेईबीच मङ्गलबार बेइजिङमा भएको द्विपक्षीय परामर्शमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद र महासभाका विविध मुद्दाहरूमा विस्तृत समीक्षा गरिएको छ। यो वार्ता दुई देशबीच ‘नयाँ युगमा प्रवेश गरेको व्यापक साझेदारी र रणनीतिक अन्तरक्रिया’ को भावनाअनुरूप भएको आधिकारिक विज्ञप्तिमा उल्लेख गरिएको छ।
बेइजिङमा भएको यस उच्चस्तरीय कूटनीतिक भेटवार्तामा दुई पक्षले संयुक्त राष्ट्रसङ्घको एजेन्डामा रहेका निम्न प्रमुख विषयहरूमा केन्द्रित भएर छलफल गरेका थिए :
· संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको सुधार,
· महासचिवको ‘युएन८० पहल’ ,
· सुरक्षा परिषदका अस्थायी सदस्य तथा ८१औं महासभाका अध्यक्षको निर्वाचन,
· ‘संयुक्त राष्ट्रसङ्घको बडापत्रको रक्षामा मित्र राष्ट्रहरूको समूह’ भित्रको समन्वय,
· ‘वैश्विक सुशासनका मित्र राष्ट्रहरूको समूह’ सँगको सहकार्य,
· इरान वरपरको परिस्थितिमा राजनीतिक तथा कूटनीतिक समाधान खोज्ने र यस विषयमा सुरक्षा परिषदमा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा विशेष जोड।
यस बैठकको अर्को महत्त्वपूर्ण पाटो भनेको आगामी संयुक्त राष्ट्रसङ्घ महासचिवको निर्वाचन रह्यो। दुवै पक्षले भावी महासचिवले सबै सदस्य राष्ट्रहरूप्रति समदूरी र तटस्थता कायम गर्नुपर्ने, संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूलाई इमानदारीपूर्वक र छनोटरहित ढङ्गले अवलम्बन गर्नुपर्ने तथा सदस्य राष्ट्रहरूबीच सेतुको काम गर्नुपर्ने कुरामा जोड दिएका छन्।
रुसी पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस वार्ताले सबैभन्दा महत्त्वपूर्ण वैश्विक मुद्दाहरूमा हाम्रा देशहरूबीच रहेको उच्चस्तरीय आपसी समझदारी र अडानको एकरूपतालाई पुनः पुष्टि गरेको छ। यो पूर्ण रूपमा रुस–चीन व्यापक साझेदारी र नयाँ युगमा प्रवेश गरिरहेको रणनीतिक अन्तरक्रियाको भावनासँग मेल खान्छ।”
विश्लेषकहरूका अनुसार, पश्चिम एसियामा जारी तनाव र अन्तर्राष्ट्रिय सङ्गठनहरूमा सुधारको बहस चर्किरहेका बेला रुस र चीनबीचको यो एकमतले बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा बलियो सन्देश प्रवाह गरेको छ।





