युद्धविरामको सेरोफेरोमा मस्को–तेहरान संवाद
लाभरोभले भने "यो सम्झौताको क्षेत्रीय आयाम छ, लेबनानसम्म फैलिन्छ"

मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र इरानी विदेशमन्त्री अब्बास अराक्चीबीच बुधबार टेलिफोन संवाद भएको छ। इरानी पक्षको पहलमा भएको यस वार्तामा रुसले अमेरिका र इरानबीच दुई साताको युद्धविराम सम्बन्धी भएको सहमति तथा सो सहमतिमा इजरायलको सहभागितालाई स्वागतयोग्य कदमको रूपमा लिएको छ।
रुसी परराष्ट्र मन्त्रालयका अनुसार, लाभरोभले वार्ताका क्रममा जोड दिँदै भनेका छन्, “मस्को दृढतापूर्वक यो विश्वास गर्दछ कि पाकिस्तानी मध्यस्थकर्ताहरूद्वारा घोषणा गरिएको उक्त सहमतिको क्षेत्रीय आयाम रहेको छ र यो विशेष रूपमा लेबनानमा समेत लागू हुन्छ।”
लाभरोभले वार्ता प्रक्रियाको सफलताको आशा व्यक्त गर्दै इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमणको असरलाई न्यूनीकरण गर्न तथा क्षेत्रमा दीर्घकालीन शान्ति र दिगो सुरक्षा सुनिश्चित गर्ने उपायहरूको खोजीमा रुस सहयोग गर्न तयार रहेको पुनः पुष्टि गरे।
प्रत्युत्तरमा इरानी विदेशमन्त्री अराक्चीले फारसको खाडीको परिस्थितिबारे संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा भएको छलफलका क्रममा रुसले लिएको सैद्धान्तिक अडानप्रति रुसी महासङ्घलाई धन्यवाद ज्ञापन गरेका छन्।
यो टेलिफोन वार्ता यस्तो बेला भएको छ, जब पश्चिम एसियामा अमेरिका र इरानबीचको तनाव केही नरम भएको सङ्केत देखिएको छ। पाकिस्तानको सक्रिय मध्यस्थतामा भएको युद्धविरामले क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ समीकरणको सम्भावना देखाएको विश्लेषकहरूको ठम्याइ छ।





