चीनमा शीतलहर र आँधीको चेतावनी, अधिकारीहरू सतर्क

काठमाडौं । चीनको मौसम विभागले उत्तरी क्षेत्रमा आउने शक्तिशाली आँधी र शीतलहरलाई मध्यनजर गर्दै शुक्रबार ठूलो मौसमी प्रकोपका लागि ‘लेवल–४’ को आपतकालीन प्रतिकार योजना सक्रिय गरेको छ ।
चीन मौसम प्रशासनले शुक्रबारदेखि आइतबारसम्म उत्तरी क्षेत्रका बहुसंख्यक भागहरूमा तीव्र गतिको हावा र बालुवाको आँधी आउने सम्भावना रहेको जनाएको छ। यसैको तयारी स्वरूप शक्तिशाली हावा र बालुवाको आँधीलाई लिएर ‘लेवल–४’ को आपतकालीन प्रतिकार योजना लागू गरिएको प्रशासनले जनाएको छ।
राष्ट्रिय मौसम केन्द्र (एनएमसी) ले शुक्रबार शक्तिशाली हावा र बालुवाको आँधीका लागि पहेँलो सतर्कता जारी गरेको छ भने शीतलहरका लागि नीलो सतर्कता जारी गरेको छ।
एनएमसीका अनुसार सिनजियाङ, भित्री मङ्गोलिया, गान्सु, निङ्जिया, छिङहाई, साङ्सी, उत्तरी चीन, उत्तरपूर्वी क्षेत्र र साङ्तुङ प्रायद्वीप लगायतका क्षेत्रहरूमा शक्तिशाली हावा चल्ने अपेक्षा गरिएको छ।
यस क्षेत्रमा ५ देखि ७ किलोमिटर प्रतिघण्टाको गतिले हावा चल्ने र हावाको गति ८ देखि १० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ। केही स्थानहरूमा यो गति ११ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने मौसमविदले जनाएका छन्।
शक्तिशाली हावाका कारण यी क्षेत्रहरू र उत्तरी होनानमा बालुवा उड्ने वा धुलोको कण हावामा मिसिने सम्भावना रहेको छ भने केही क्षेत्रहरूमा बालुवाको आँधी वा ठूलो बालुवाको आँधी आउन सक्ने चेतावनी दिइएको छ।
मौसम केन्द्रले २२ फेब्रुअरी बिहान पनि बालुवाको आँधीको नीलो सतर्कता जारी गरेको छ, जसअनुसार २२ फेब्रुअरी बिहान ८ बजेदेखि २३ फेब्रुअरी बिहान ८ बजेसम्म सिनजियाङको पूर्वी र दक्षिणी भाग, भित्री मङ्गोलियाको पश्चिमी भाग, छिङहाईको उत्तरपूर्वी भाग, गान्सुको मध्य भाग, निङ्जियाको अधिकांश भाग, साङ्सीको अधिकांश भाग, सान्सीको दक्षिण–मध्य भाग, लियाओनिङको उत्तरी भाग, चिलिनको मध्य भाग, होनान, साङ्तुङको दक्षिणी भाग, अन्हुइको अधिकांश भाग, चियाङ्सु, साङ्घाई, हुबेईको अधिकांश भाग र चच्याङको उत्तरी भागमा बालुवा वा धुलोको कण हावामा मिसिने सम्भावना रहेको जनाइएको छ।
चीनले मौसम चेतावनीका लागि चार–तहको प्रणाली अपनाएको छ, जसमा रातोले सबैभन्दा गम्भीर चेतावनी जनाउँछ भने त्यसपछि क्रमशः सुन्तला, पहेँलो र नीलो हुन्छ। यसैगरी, आपतकालीन प्रतिकार प्रणाली पनि चार तहको छ, जसमा ‘लेवल–१’ सबैभन्दा गम्भीर अवस्थाका लागि हुन्छ।
चीन यतिबेला चिनियाँ नयाँ वर्षको मनाइरहेको छ, जसका लागि नौ दिनको सार्वजनिक बिदा छ। मौसमको यो प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै बेइजिङ प्रशासनले शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म केही बाह्य पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरेको छ र केही चिनियाँ नयाँ वर्षका कार्यक्रमहरू स्थगित गरेको छ।
यसैगरी, शक्तिशाली हावाका कारण लियाओनिङ र साङ्तुङबीचको प्रान्तीय मार्गमा यात्रु फेरी सेवा शनिबार दिउँसो १२:५० बजेदेखि स्थगित गरिएको छ। स्थानीय समुद्री अधिकारीहरूका अनुसार यो सेवा आइतबारदेखि क्रमशः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
बेइजिङमा शनिबार दिउँसोदेखि शक्तिशाली हावा र बालुवाको आँधी सुरु भएको छ, जसले वायु प्रदूषण निम्त्याएको छ। पीएम १० को स्तर बढेको छ, जसले सहरको औसत प्रदूषण स्तर हल्का प्रदूषणको १७५ माइक्रोग्राम प्रति घनमिटर पुगेको मौसम अधिकारीहरूले जनाएका छन्। शनिबार अबेर साँझ यो स्तर ५०० माइक्रोग्राम प्रति घनमिटर नाघ्ने अनुमान गरिएको छ, जुन गम्भीर प्रदूषणको स्तर हो।
मौसम पूर्वानुमानअनुसार बिदाको अन्तिम दिन सोमबार बेइजिङमा हावाको गति केही कम हुने अपेक्षा गरिएको छ। मौसमविदले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन सुझाव दिएका छन्।





