२६ चैत्र २०८२, बिहीबार

चीन–ईयू सम्बन्धमा नयाँ सन्तुलनको खोजी: संरक्षणवाद त्यागेर सहकार्यतर्फ अघि बढ्न बेइजिङको आह्वान

बेइजिङ। चीनले युरोपेली संघ (ईयू) सँग स्वस्थ, स्थिर र सकारात्मक आर्थिक तथा व्यापारिक सम्बन्ध प्रवर्द्धन गर्न सहकार्यको हात बढाएको छ। चीनको वाणिज्य मन्त्रालयले बिहीबार दिएको अभिव्यक्तिमा दुवै पक्षबीचको सहकार्यलाई अझ सुदृढ बनाउन खुला संवाद र आपसी समझदारी आवश्यक रहेको औंल्याइएको छ।

मन्त्रालयका प्रवक्ता ह यादाेङले चीन र यूरोपियन यूनियन बीच दीर्घकालीन सहकार्य बलियो आधारमा उभिएको र वर्षौंदेखि सकारात्मक गतिमा अघि बढिरहेको बताए। उनका अनुसार दुवै पक्षका औद्योगिक तथा आपूर्ति शृंखलाहरू गहिरो रूपमा एकअर्कासँग जोडिएका छन्, जसले परिपूरक क्षमता र पारस्परिक लाभमा आधारित सम्बन्ध निर्माण गरेको छ।

चीनले ईयू सँग द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्झौताहरू वार्ता र हस्ताक्षर गर्न सधैं खुला रहेको बताउँदै युरोपेली नेताहरूबाट आएका प्रस्तावहरूलाई सकारात्मक रूपमा स्वागत गरेको जनाएको छ।

तर, पछिल्ला वर्षहरूमा ईयूले विभिन्न आर्थिक तथा व्यापारिक उपकरण प्रयोग गर्दै चिनियाँ कम्पनीहरूविरुद्ध अनुसन्धान सुरु गर्ने र प्रतिबन्ध लगाउने क्रम बढाएकोप्रति चीनले असन्तुष्टि जनाएको छ।

प्रवक्ता हे याडोङले ईयूलाई आफ्ना सदस्य राष्ट्रहरू र युरोपेली उद्योग जगतको धारणा गम्भीरतापूर्वक लिन, संरक्षणवादी नीतिहरू त्याग्न र चीनसँग सहकार्यको साझा मार्गमा अघि बढ्न आग्रह गरे।

उनले थपे, “पर्खाल र अवरोध निर्माण गर्नुको सट्टा खुला सहकार्य रोज्नुपर्छ। मतभेद र विवादलाई संवाद र परामर्शमार्फत समाधान गर्दै चीन–ईयू आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्वस्थ र सकारात्मक दिशामा अगाडि बढाउन आवश्यक छ।”

विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितताबीच चीन र ईयूबीचको सहकार्य सुदृढ हुनु वैश्विक आपूर्ति शृंखला स्थायित्व र आर्थिक पुनरुत्थानका लागि महत्वपूर्ण हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button