राष्ट्रपति निर्वाचित भएपछि पहिलो चीन भ्रमण : भियतनामका तो लाम आउँदो सोमबार बेइजिङ आउँदै, समाजवादी एकताको नयाँ सन्देश

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भियतनाम कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं भियतनामी राष्ट्रपति तो लामले आगामी अप्रिल १४ देखि १७ तारिखसम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन्। सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बिहीबार बेइजिङमा यसको औपचारिक घोषणा गरेका हुन्।
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा तो लामको भ्रमणको विस्तृत कार्यक्रमबारे जानकारी दिइन्। उनका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङले तो लामसँग औपचारिक वार्ता गर्नेछन् भने चिनियाँ प्रधानमन्त्री ली छ्याङ, राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजी र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले उनीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रवक्ता माओले सन् २०२५ को अप्रिलमा महासचिव एवं राष्ट्रपति सी जिनपिङले भियतनामको सफल राजकीय भ्रमण गरेको स्मरण गर्दै त्यसले दुई देशबीच रणनीतिक महत्त्वको साझा भविष्य भएको चीन–भियतनाम समुदायको नयाँ अध्याय सुरु गरेको बताइन्।
उनले तो लाम राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमणका रूपमा चीन आउन लागेको उल्लेख गर्दै यसले दुई पार्टी र दुई देशबीचको सम्बन्ध विकासप्रतिको ठूलो महत्त्वलाई पूर्ण रूपमा दर्शाएको बताइन्।
माओले भनिन्, “चीनले यस भ्रमणमार्फत दुई देशले परम्परागत मित्रतालाई अघि बढाउने, व्यापक रणनीतिक सहकार्यात्मक साझेदारीलाई थप गहिरो बनाउने, झन् उच्चस्तरको रणनीतिक महत्त्वको साझा भविष्य भएको समुदायको निर्माणलाई अघि बढाउने, विश्वमा समाजवादी कार्यलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने तथा क्षेत्रीय र विश्व शान्ति, स्थायित्व र विकासलाई सँगै कायम राख्ने अपेक्षा गरेको छ।”





