‘राजा होइन, रास्वपा नै लोकतन्त्रका लागि खतरा’ : एमाले नेता बडालको तीखो टिप्पणी

काठमाडौं / नेकपा (एमाले) का केन्द्रीय सदस्य समिक बडालले राजा ज्ञानेन्द्र शाहभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकतन्त्रका लागि ठूलो खतरा रहेको तीखो टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको अराजकताको नेतृत्व रास्वपाले गरिरहेको आरोप लगाए।

प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई आधार बनाएर लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने बडालको जिकिर छ। उनले भने, “पूर्वराजाका अभिव्यक्तिलाई मात्र हेरेर लोकतन्त्र संकटमा छ भन्ने ठहर गर्नु गलत हुनेछ। वास्तविक खतरा भनेको संसद र संसदीय मूल्यमान्यताप्रति नै अविश्वास देखाउने र अराजक गतिविधिमा संलग्न हुने प्रवृत्तिबाट छ, जसको नेतृत्व रास्वपाले गरिरहेको छ।”

उनले डिस्कोर्ड प्रकरणबाट गठित सरकारले जेनजी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास भइरहेकोप्रति आपत्ति जनाए। आयोगको प्रतिवेदन लुकाएर र त्यसको राजनीतिक दुरुपयोग गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो।

आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्दै बडालले एमाले नै देशको स्थिरता र विकासको एकमात्र विकल्प रहेको बताए। उनले भने, “जनताले अहिलेको अराजकता र अस्थिरताको अन्त्य चाहेका छन्। त्यसको नेतृत्व एमालेले मात्र गर्न सक्छ। हामी आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याएर देखाउँछौं।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button