२७ बैशाख २०८३, आईतवार

मध्यपूर्वको आगोले सोलको ब्याजदरलाई ‘फ्रिज’ : सातौं पटक यथावत, एकातिर मुद्रास्फीतिको चाप त अर्कातिर वृद्धिको जोखिम

सोल (दक्षिण कोरिया) । मध्यपूर्व तनावका कारण बढ्दो मुद्रास्फीति चाप र उच्च विनिमय दर अस्थिरताजस्ता अनिश्चितताका बीच दक्षिण कोरियाको केन्द्रीय बैंकले शुक्रबार लगातार सातौं पटक आफ्नो नीतिगत ब्याजदरलाई यथावत राखेको छ। बैंक अफ कोरिया (बीओके) का गभर्नर री चाङ–योङ र अन्य मौद्रिक नीति निर्माताहरूले बेन्चमार्क सातदिने रिपर्चेज दरलाई २.५० प्रतिशतमा अपरिवर्तित राख्ने निर्णय गरेका हुन्।

यो निर्णय बजारको अपेक्षाअनुरूप नै आएको हो। कोरिया वित्तीय लगानी सङ्घले १०० जना स्थिर आय विज्ञहरूमाझ गरेको सर्वेक्षणमा ९३ प्रतिशतले यस महिना ब्याजदर यथावत रहने अनुमान गरेका थिए। केन्द्रीय बैंकले सन् २०२४ को अक्टोबर र नोभेम्बर तथा सन् २०२५ को फेब्रुअरी र मेमा २५ आधार बिन्दुका दरले मुख्य ब्याजदर घटाएपछि लगातार सातौं पटक यसलाई स्थिर राखेको हो।

बीओकेलाई ब्याजदर बढाउन वा घटाउन दुवै कठिन भएको छ। किनभने मध्यपूर्व द्वन्द्वले समग्र मुद्रास्फीति र अमेरिकी डलरको तुलनामा दक्षिण कोरियाली वोनको विनिमय दरमाथि चाप बढाएको छ भने आर्थिक वृद्धिले भने नकारात्मक दबाब सामना गरिरहेको छ।

केन्द्रीय बैंकले एक विज्ञप्तिमा भनेको छ, “मध्यपूर्वको भावी घटनाक्रमलाई लिएर उच्च अनिश्चितता रहेको छ। मुद्रास्फीतिमा बढ्दो चाप, वृद्धिमा बढ्दो नकारात्मक जोखिम र वित्तीय तथा विदेशी मुद्रा बजारमा बढ्दो अस्थिरता देखिएको छ।”

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) फेब्रुअरीमा २.० प्रतिशतले बढेकोमा मार्चमा आएर वार्षिक वृद्धिदर २.२ प्रतिशत पुगेको छ। गत महिना पेट्रोलियम पदार्थको मूल्य ९.९ प्रतिशतले उफ्रिएको छ, जसले समग्र मुद्रास्फीतिमा ०.३९ प्रतिशत बिन्दुले वृद्धि गराएको छ। यो अक्टोबर २०२२ पछिको करिब साढे तीन वर्षकै उच्च गति हो।

विनिमय दरको उतारचढाव हालै चर्किएको छ। मार्चको अन्त्यमा वोन प्रति डलर विनिमय दर एक महिनाअघिको १,४३९.७ वोनबाट बढेर १,५३०.१ वोन प्रति डलर पुगेको छ। आगामी १२ महिनामा समग्र मुद्रास्फीतिबारे उपभोक्ताहरूको दृष्टिकोण मापन गर्ने मुद्रास्फीति अपेक्षा मार्चमा अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशत बिन्दुले बढेर २.७ प्रतिशत पुगेको छ।

मध्यपूर्वमा दुई साताको युद्धविराम भए पनि आर्थिक वृद्धिमा पर्ने नकारात्मक दबाबबारे चिन्ता कायमै छ। मध्यपूर्व तनावको सामना गर्न र जनताको जीविकोपार्जनलाई सहयोग गर्न दक्षिण कोरियाली सरकारले मार्चको अन्त्यमा २६.२ ट्रिलियन वोन (१७.७ अर्ब अमेरिकी डलर) को अतिरिक्त बजेट सार्वजनिक गरेको थियो।

आर्थिक अवस्थाबारे उपभोक्ताहरूको मनोभावना मापन गर्ने समग्र उपभोक्ता मनोभावना सूचकाङ्क (सीसीएसआई) मार्चमा अघिल्लो महिनाको तुलनामा ५.१ अङ्कले घटेर १०७.० मा झरेको छ, जुन तीन महिनामा पहिलो गिरावट हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button