२७ बैशाख २०८३, आईतवार

युद्धविरामको लहर कम्बोडियाको पेट्रोल पम्पसम्म : एकै रात डिजेलको मूल्यमा १५.८ प्रतिशतको गिरावट, उपभोक्तालाई राहत

नोम पेन्ह (कम्बोडिया) । अमेरिका र इरानबीच दुई साताको युद्धविरामको घोषणापछि कम्बोडियामा खुद्रा इन्धनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। वाणिज्य मन्त्रालयले बिहीबार मध्यरातमा जारी गरेको सूचनाअनुसार आगामी सूचना जारी नभएसम्मका लागि नियमित पेट्रोलको मूल्य प्रतिलिटर ५,२०० रिएल (१.३ अमेरिकी डलर) तोकिएको छ, जुन पछिल्ला तीन दिनको ५,५०० रिएल (१.३७ डलर) को तुलनामा ५.४ प्रतिशतले कम हो।

यस्तै, डिजेलको मूल्य भने प्रतिलिटर ८,२०० रिएल (२.०५ डलर) बाट १५.८ प्रतिशतले घटेर ६,९०० रिएल (१.७३ डलर) मा झरेको मन्त्रालयले जनाएको छ। तर, तरल पेट्रोलियम ग्यास (एलपीजी) को मूल्य भने प्रतिलिटर ३,९०० रिएल (०.९७ डलर) मा यथावत रहेको छ।

कम्बोडियाको भन्सार तथा अन्तःशुल्क विभागले बुधबार जनाएअनुसार मध्यपूर्व द्वन्द्वका कारण बढेको इन्धन मूल्यको प्रभाव न्यूनीकरण गर्न सरकारले मासिक रूपमा करिब ४ करोड ७० लाख अमेरिकी डलर अनुदान दिँदै आएको छ। यो अनुदान तेल तथा ग्यासमा लाग्ने आयात महसुल र कर घटाएर तथा विद्युतीय सवारी साधन, प्लग–इन हाइब्रिड विद्युतीय सवारी, विद्युतीय चुलो र सौर्य ऊर्जाबाट चल्ने उपकरणहरूको आयात महसुल घटाएर प्रदान गरिएको हो।

यो दक्षिणपूर्वी एसियाली मुलुक पूर्ण रूपमा आयातित पेट्रोलियम पदार्थ र डिजेलमा निर्भर छ, किनकि यहाँको समुद्री सतहमुनिको तेल भण्डारको अहिलेसम्म उत्खनन हुन सकेको छैन। युद्धविरामको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटको प्रत्यक्ष लाभ कम्बोडियाका उपभोक्ताले पाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button