२७ बैशाख २०८३, आईतवार

सैनिक वर्चस्वको नयाँ अध्याय : म्यानमारमा वरिष्ठ जनरल मिन आङ ह्लाइङ राष्ट्रपतिमा शपथ ग्रहण, सत्ताको औपचारिक रूपान्तरण पूरा

नेपिडो (म्यानमार) । म्यानमारका वरिष्ठ जनरल मिन आङ ह्लाइङले शुक्रबार सङ्घीय संसद्को विशेष अधिवेशनमा राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन्। योसँगै सन् २०२१ को सैन्य ‘कू’ पश्चात् अनौपचारिक रूपमा सत्ता सञ्चालन गरिरहेका उनले अब संवैधानिक रूपमै मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

राजधानी नेपिडोस्थित सङ्घीय संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहमा ६९ वर्षीय मिन आङ ह्लाइङले आफूप्रति वफादार सांसदहरूको भव्य जनसमर्थनबीच पद तथा गोपनीयताको शपथ लिएका हुन्। सो अवसरमा नवनिर्वाचित उपराष्ट्रपतिद्वय न्यो स र नान नि नि एईले पनि शपथ ग्रहण गरेका थिए ।

गत अप्रिल ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा मिन आङ ह्लाइङले कुल ५८४ मतमध्ये ४२९ मत प्राप्त गर्दै भारी बहुमतका साथ विजय हासिल गरेका थिए । उक्त निर्वाचनमा संसद्को निर्वाचित सदन र सेनाद्वारा मनोनीत सांसदहरू सहभागी थिए। उनले राष्ट्रपति पदको उम्मेदवार बन्नका लागि गत मार्चमा १५ वर्षदेखि सम्हाल्दै आएको सशस्त्र बल (तात्माडा) को कमान्डर–इन–चिफ पदबाट राजीनामा दिएका थिए ।

नवनिर्वाचित राष्ट्रपति मिन आङ ह्लाइङले सन् २०२१ फेब्रुअरी १ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएका थिए। त्यसयता उनले पहिले राज्य प्रशासन परिषद्को अध्यक्ष र पछि कार्यवाहक राष्ट्रपतिका रूपमा मुलुकको नेतृत्व गर्दै आएका थिए। उक्त ‘कू’ पश्चात् राष्ट्रिय प्रजातन्त्र सङ्घ (एनएलडी) भङ्ग गरिएको थियो भने सुकीलाई विभिन्न मुद्दामा कारागार चलान गरिएको थियो।

शपथ ग्रहणसँगै मिन आङ ह्लाइङले आगामी साताको सुरुमै आफ्नो मन्त्रिपरिषद् गठन गरी संसद्बाट अनुमोदन गराउने र औपचारिक रूपमा राजकीय सत्ता सम्हाल्ने कार्यक्रम रहेको जनाइएको छ । उनको राष्ट्रपतिकालमा ‘जननी जनता, पिता जनता’ को नीति अवलम्बन गर्दै बहुदलीय लोकतान्त्रिक प्रणालीमा शान्तिपूर्ण सङ्क्रमण, दिगो शान्ति स्थापना र सामाजिक–आर्थिक विकासलाई प्राथमिकतामा राखिने दाबी गरिएको छ ।

यद्यपि, अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकारवादी सङ्घसंस्थाहरूले भने यो सम्पूर्ण प्रक्रियालाई सैन्य शासनलाई नागरिक पोसाक पहिर्याउने ‘नौटङ्की’ मात्र भएको भन्दै आलोचना गरेका छन्। विपक्षी शक्तिहरू र पश्चिमा मुलुकहरूले यसलाई अवैधानिक र लोकतन्त्रको हत्या भएको सङ्ज्ञा दिएका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button