२७ बैशाख २०८३, आईतवार

एक दशकपछि ताइवानबाट बेइजिङको ऐतिहासिक पाहुना

राष्ट्रपति सी र केएमटी अध्यक्ष चेङबीच 'जलविहीन नदीमा सेतु' निर्माणको प्रयास

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी जिनपिङले शुक्रबार बिहान बेइजिङमा चिनियाँ कुमिन्ताङ (केएमटी) पार्टीकी अध्यक्ष चेङ ली–वुनसँग ऐतिहासिक भेटवार्ता गरेका छन्। सीपीसी केन्द्रीय समिति र राष्ट्रपति सीको औपचारिक निमन्त्रणामा चेङ पछिल्लो एक दशकमै केएमटी अध्यक्षको हैसियतले चिनियाँ मुख्यभूमिको भ्रमण गर्ने पहिलो नेता बनेकी हुन्।

चेङको नेतृत्वमा रहेको केएमटी प्रतिनिधिमण्डल बेइजिङ आउनुअघि जियाङसु प्रान्त र साङ्घाईको भ्रमण सम्पन्न गरेको थियो। यो भ्रमणलाई दुई पक्षबीच लामो समयदेखि जारी राजनीतिक तनाव र अविश्वासको वातावरणलाई चिर्दै संवादको नयाँ ढोका खोल्ने प्रयासका रूपमा हेरिएको छ।

सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले मुख्यभूमि चीनमा सत्ता स्थापना गरेपछि केएमटी ताइवानमा सीमित भएको थियो। त्यसयता दुई पक्षबीचको सम्बन्धमा अनेकौं उतारचढाव आइसकेका छन्। पछिल्लो एक दशकमा केएमटीका कुनै पनि अध्यक्षले मुख्यभूमिको भ्रमण नगरेको सन्दर्भमा चेङको यो भ्रमणलाई विशेष अर्थमा लिइएको छ।

भेटवार्ताका क्रममा दुई पक्षबीच दुई पार्टीको सम्बन्ध, मुख्यभूमि र ताइवानबीचको आदानप्रदान तथा सहकार्य, र क्षेत्रीय शान्ति तथा स्थायित्वका विषयमा छलफल भएको बताइएको छ। चीनले ताइवानलाई आफ्नो भूभागको अभिन्न अङ्ग मान्दै आएको छ र ‘एक चीन’ नीतिप्रति दृढ अडान राख्दै आएको छ।

विश्लेषकहरूले यो भेटवार्तालाई दुवै पक्षबीचको सम्बन्धमा देखिएको गतिरोधलाई तोड्ने र संवादको माध्यमबाट समाधान खोज्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। चेङको नेतृत्वमा केएमटीले मुख्यभूमिसँगको आर्थिक तथा सांस्कृतिक आदानप्रदानलाई प्राथमिकतामा राख्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button