‘इजरायली सैन्य लक्ष्य असफल’ हिजबुल्लाह प्रमुख कासिमको दाबी, सीमामा घात हमलामा इजरायली सेनाको क्षति

बेरुत । हिजबुल्लाहका प्रमुख नइम कासिमले इजरायली सेना आफ्ना सैन्य उद्देश्यहरू हासिल गर्न असफल भएको दाबी गर्दै प्रतिरोध जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार जारी गरिएको एक वक्तव्यमा कासिमले योजनाबद्ध भूमिगत आक्रमणलगायत इजरायलका कुनै पनि सैन्य लक्ष्य पूरा नभएको बताएका छन्।
हिजबुल्लाह प्रमुखले वक्तव्यमा भनेका छन्, “इजरायली सेनाले सीमावर्ती क्षेत्रमा घात हमलाहरूमा क्षति बेहोर्नुपरेको छ र उनीहरूका सैन्य सवारीसाधनहरू ध्वस्त भएका छन्।” उनले इजरायलले जमिनी आक्रमणको योजना बनाए पनि त्यो सफल हुन नसकेको दाबी गरे।
यो वक्तव्य यस्तो समयमा आएको छ, जब इजरायल र हिजबुल्लाहबीच लेबनानको सीमावर्ती क्षेत्रमा दैनिकजसो गोलाबारी र आक्रमणका घटनाहरू भइरहेका छन्। इजरायली सेनाले भने हालैका दिनहरूमा लेबनानका विभिन्न क्षेत्रहरूमा ‘अनन्त अन्धकार’ नामक व्यापक हवाई आक्रमण अभियान सञ्चालन गरिरहेको छ, जसमा हिजबुल्लाहका कमान्ड सेन्टरहरूलाई निसाना बनाइएको दाबी गरिएको छ। दुवै पक्षबीचको यो द्वन्द्वले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता निम्त्याउने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरिरहेको छ।





