२७ चैत्र २०८२, शुक्रबार

मौरिससमा खनाल-जयशङ्कर भेट, भारतीय विदेशमन्त्रीद्वारा नवनियुक्त नेपाली समकक्षीलाई बधाई र द्विपक्षीय सहकार्यको प्रतिबद्धता

काठमाडौं । नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिससको राजधानी पोर्ट लुइस पुगेका परराष्ट्रमन्त्री डा. शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशङ्करबीच शुक्रबार भेटवार्ता भएको छ। सामाजिक सञ्जाल एक्स (पुरानो ट्विटर) मा भारतीय विदेशमन्त्री जयशङ्करले यस भेटको जानकारी दिँदै मन्त्री खनाललाई पदभार ग्रहणको बधाई दिएका छन्।

भारतीय विदेशमन्त्री जयशङ्करले लेखेका छन्, “नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेर खुसी लाग्यो। मन्त्री पदको नियुक्तिका लागि बधाई दिएँ।”

परराष्ट्र मन्त्रालयका अनुसार, भेटवार्ताका क्रममा दुई देशबीच विभिन्न क्षेत्रहरूमा पूर्ण सहकार्यको सम्भावनाबारे सारगर्भित छलफल भएको छ। दुई छिमेकी राष्ट्रका विदेशमन्त्रीहरूबीचको यो भेटले नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।

मन्त्री खनाल पश्चिमी हिन्द महासागर क्षेत्रका राष्ट्रहरूबीच समुद्री सुरक्षा, जलवायु परिवर्तन र आर्थिक सहकार्यलगायतका विषयहरूमा छलफल गर्न आयोजित उक्त सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका हुन्। यस सम्मेलनको क्रममा भएको यो द्विपक्षीय भेटवार्ताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत नेपाल र भारतबीचको निकट समन्वयलाई सङ्केत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button