नेपालका भूपूहरूका लागि भारतको ‘सम्मान प्याकेज’, शून्य सेवा शुल्कदेखि पाँच लाखको दुर्घटना बिमासम्म सुविधा

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास र नेपाल एसबीआई बैंक लिमिटेडले संयुक्त रूपमा नेपालमा बसोबास गरिरहेका भारत सरकारका पेन्सनधारकहरूका लागि एक ऐतिहासिक कदम चाल्दै ‘भारत-गोर्खा भूपू सम्मान प्याकेज’ (बीएसपी) को शुक्रबार घोषणा गरेका छन्। यो प्याकेजले नेपालमा रहेका भारतीय भूतपूर्व सैनिकहरू (भूपू) लाई बैंकिङ सेवामा विशेष सहुलियत र सम्मान प्रदान गर्ने लक्ष्य राखेको छ।
यस विशेष प्याकेजअन्तर्गत भूपूहरूले शून्य सेवा शुल्क, सहुलियतपूर्ण बैंकिङ सुविधा, र ५ लाख नेपाली रुपैयाँसम्मको दुर्घटना बिमा तथा थप सुरक्षा कभरहरू प्राप्त गर्नेछन्। यो पहलले नेपालमा रहेका भारतीय पेन्सनधारकहरूको कल्याणलाई उच्च प्राथमिकतामा राख्ने भारत सरकारको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको बताइएको छ।
कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका अधिकारीहरू तथा नेपाल एसबीआई बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस अवसरमा वक्ताहरूले यो प्याकेजले नेपाल र भारतबीचको ऐतिहासिक सैन्य सम्बन्ध र गोर्खा समुदायप्रति भारत सरकारको सम्मानलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
भारत सरकारको यो कदमले नेपालका विभिन्न भागमा बसोबास गरिरहेका हजारौं भारतीय भूपूहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ। यसले उनीहरूको दैनिक बैंकिङ कारोबारलाई सहज, सुलभ र मितव्ययी बनाउनुका साथै अप्रत्याशित दुर्घटनाको अवस्थामा आर्थिक सुरक्षाको प्रत्याभूति समेत दिनेछ।





