गणतन्त्र सुदृढीकरणका लागि एकताको आह्वान: विगतका कटुता बिर्सेर अघि बढ्न राष्ट्रपतिको आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पाैडेलले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवर्द्धन र आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
संघीय संसदका दुवै सदनलाई शुक्रबार सम्बोधन गर्दै उनले विगतका कटुतालाई कोट्याएर होइन, त्यसबाट पाठ सिक्दै साझा उद्देश्यतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रपति पौडेलले भने, “मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवर्द्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न हामी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ। विगतका कटुता दोहोर्याउने होइन, त्यसबाट सिकेर एकताबद्ध भएर अगाडि बढ्ने समय आएको छ।”
उनले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधि, राजनीतिक दल तथा राज्य संयन्त्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
राष्ट्रपतिले सार्वभौम संसद्, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र सुशासनप्रतिको जनअपेक्षालाई सम्बोधन गर्दै मुलुकलाई समृद्धितर्फ अग्रसर गराउने विश्वास व्यक्त गरे। साथै, उनले सबै पक्षलाई जिम्मेवार, समन्वयकारी र परिणाममुखी ढंगले अघि बढ्न आह्वान गरे।





