आईसीसीआरको ७७ औं वसन्तमा काठमाडौंमा सांस्कृतिक सङ्गम, पर्यटनमन्त्री पौडेलको प्रमुख आतिथ्यमा नेपाल-भारत मित्रताको उत्सव

काठमाडौं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) को ७७ औं स्थापना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित भई समारोहको गरिमा बढाएका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालस्थित आईसीसीआरका सङ्गीत शिक्षक तथा विद्यार्थीहरूको मनमोहक प्रस्तुति र आईसीसीआरका पूर्वविद्यार्थी (एलुमनाई) कलाकार रिदम कँडेल नेतृत्वको नेपाली साङ्गीतिक समूहको प्रस्तुति रहेको थियो। उक्त साङ्गीतिक प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

यसै अवसरमा आईसीसीआरका विशिष्ट नेपाली पूर्वविद्यार्थीहरूले आफ्ना प्रेरणादायी व्यावसायिक अनुभवहरू साझा गर्दै उनीहरूको करियर निर्माणमा आईसीसीआर छात्रवृत्तिले खेलेको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गरेका थिए। कार्यक्रमको समापन भारतीय कला र संस्कृतिसम्बन्धी आईसीसीआरले नेपालमा आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरणसँगै भएको थियो।
यस समारोहले नेपाल र भारतबीचको अटूट मित्रता र दुई देशका जनताबीचको सम्बन्धलाई जोड्ने सेतुको रूपमा आईसीसीआरले खेल्दै आएको भूमिकालाई पुनः पुष्टि गरेको छ। भारतीय राजदूतावासले आयोजना गरेको यस कार्यक्रमले दुई छिमेकी राष्ट्रबीचको सांस्कृतिक आदानप्रदानलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।





