उपसभामुखमा रुवी कुमारी ठाकुरको शपथ, २२९ मतले विजयी, राप्रपाको विपक्षमा मतदान

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरले प्रतिनिधिसभाको उपसभामुख पदको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ आयोजित एक विशेष समारोहमा राष्ट्रपतिको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
यसअघि शुक्रबार नै प्रतिनिधिसभामा भएको निर्वाचनमा रुवी कुमारी उपसभामुख पदमा निर्वाचित भएकी थिइन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा उनी उपसभामुख बनेकी हुन्।
प्रतिनिधिसभा बैठकमा भएको मतदानमा रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए भने विपक्षमा ५ सांसदले मात्र मतदान गरे। उक्त प्रस्तावको विपक्षमा मतदान गर्नेहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू रहेको बताइएको छ। यसैबीच, २२ सांसदहरूले भने पक्ष वा विपक्ष कतै पनि मतदान नगरी तटस्थ बसेका थिए। मतविभाजनका क्रममा प्रतिनिधिसभा बैठकमा २ सय ५६ सांसद उपस्थित रहेको संसद् सचिवालयले जनाएको छ।
पहिलोपटक संसद्मा प्रवेश गरेको श्रम संस्कृति पार्टीकी २५ वर्षीया सांसद रुवी कुमारी ठाकुरले यसअघि आफ्नो उम्मेदवारी दर्तापछि ‘म भुईंको मान्छेलाई यति माथिसम्म पुर्याइयो’ भन्दै भावुक प्रतिक्रिया दिएकी थिइन्। उनको यो निर्वाचनले संसद्मा नयाँ समीकरण र सहकार्यको ढोका खोलेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।





