सर्वोच्च अदालतद्वारा नेकपा (बहुमत) महासचिव बास्तोलाको रिहाइ अस्वीकार : पक्राउको कारण स्पष्ट पार्न सरकारलाई आदेश

काठमाडौं, – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै उनलाई रिहा गर्न नमिल्ने ठहर गरेको हो।
बास्तोलाकी पत्नी शावित्रीकुमारी वलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाउं र जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार इजलासले बास्तोलालाई पक्राउ गर्नुको कारण स्पष्ट रूपमा पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ। अदालतले पक्राउको आधार र कानुनी प्रक्रियाबारे विस्तृत व्याख्या माग गरेको हो।
प्रहरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा बास्तोलालाई पक्राउ गरेको थियो। निर्वाचन आयोगले मान्यता दिएको राजनीतिक दलले निर्वाचन बहिष्कारको अभियान चलाउनु अवैधानिक भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।
बास्तोलाको पक्राउलाई लिएर नेकपा (बहुमत) लगायतका केही राजनीतिक घेराबाट असन्तुष्टि व्यक्त भएको छ। तथापि, सरकार र प्रहरीले निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्नुपर्ने बाध्यता रहेको तर्क गरेका छन्। अदालतको आदेशपछि अब सरकारले बास्तोलालाई पक्राउ गर्नुको कारण र प्रमाण अदालतमा पेस गर्नुपर्नेछ।





