इरानी संसद अध्यक्ष कालिबाफको नेतृत्वमा उच्चस्तरीय टोली अमेरिकी पक्षसँग वार्ताका लागि इस्लामाबाद आइपुग्यो

इस्लामाबाद । अर्ध–सरकारी फार्स समाचार एजेन्सीका अनुसार इरानी संसद्का अध्यक्ष मोहम्मद बाकेर कालिबाफको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अमेरिकी पक्षसँग वार्ताका लागि आज बिहानै पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेको छ।
यो वार्ता इस्लामाबादमा शनिबारका लागि तय गरिएको अमेरिका–इरान वार्ताअन्तर्गत हुने अपेक्षा गरिएको छ। इरानी संसद अध्यक्षको यो भ्रमणलाई वार्ताको उच्चस्तरीय प्रतिनिधित्वको रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताअघि इरानमाथि दबाब बढाएका छन् भने इरानले आफ्नो सशस्त्र बल पूर्ण तयारीमा रहेको घोषणा गरेको छ।
यो वार्ताले क्षेत्रीय तनाव न्यूनीकरण र द्वन्द्वको स्थायी समाधानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। तर, दुवै पक्षका कडा अडान र पारस्परिक अविश्वासले वार्ता सफल हुनेमा अनिश्चितता कायमै छ।





