घरदैलोको घामछायाँमा चुनावी दौड : गाउँगाउँमा फरक शैलीका उम्मेदवार

काठमाडौं / फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जिल्लाका गाउँ–बस्तीहरू चुनावी चहलपहलले भरिएका छन्। उम्मेदवार र दलका नेता–कार्यकर्ताहरू मतदाता भेटघाट, घरदैलो र संवाद कार्यक्रममा व्यस्त छन्। कांग्रेस र कम्युनिस्ट धारका दलहरूले मत माग्ने शैलीमा देखिएको भिन्नताले चुनावी माहोललाई अझ रोचक बनाएको छ।

नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वली सानो तर चुस्त टोलीसहित गाउँ–गाउँ पुगिरहेका छन्। पाका नेता र युवाको मिश्रित सहभागितासहित उनी घरदैलो अभियानमा सक्रिय छन्। पार्टीको पकड मानिएका गाउँका घर, चोक र चौतारामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। सामाजिक सञ्जाल मार्फत पनि मत माग्ने शैली अपनाउँदै आएका वली भन्छन्, “आदर र सम्मानका साथ आफ्नो परिचय दिन्छु। अहिलेको राजनीतिक अवस्था स्पष्ट पारेर मात्रै मत दिन आग्रह गर्छु।” उनलाई सघाउन पूर्वसांसद लेखनाथ आचार्य समेत खटिएका छन्।

यसअघिका निर्वाचनमा यस्तो आत्मीय प्रचारशैली नदेखिएको आचार्यको अनुभव छ। उनी भन्छन्, “यसपटक आफ्नै कार्यकर्ताको घरमा बास माग्ने, जे जुट्छ त्यही खाने र गाउँलेसँग दुःख–सुख साट्ने अभ्यास गरेका छौं। यो जनतासँग साँच्चिकै भिज्ने र नजिकिने तरिका रहेछ।” २०५६ सालको संसदीय निर्वाचनमा रोल्पा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका आचार्यका लागि यो शैली नयाँ भए पनि प्रभावकारी देखिएको छ।

बेइजिङ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. वली दुर्गम गाउँमै जन्मे–हुर्केका हुन्। दुःख–कष्टको अनुभव आफैंले भोगेकाले गाउँमा पुग्दा सामान्य र सरल शैली मन पराउने गरेको कांग्रेस जिल्ला सचिव शेरबहादुर थापा बताउँछन्।

उता नेकपा (एमाले) का उम्मेदवार गोकुलप्रसाद घर्तीमगर पनि सानो समूहसहित पालिका–पालिका पुग्दै मतदाता भेटिरहेका छन्। तामझाम र खर्चिलो गतिविधिबाट टाढा रहेर जनतासँग सिधा संवाद गर्ने उनको रणनीति छ। “जनताको घरमा बास मागेर बस्नु महँगो होटलको स्वागतभन्दा धेरै अर्थपूर्ण हुन्छ,” घर्तीमगर भन्छन्। जनताको घरमै बसेर सँगै भोजन गर्दा केहीले टिप्पणी गरे पनि उनी त्यसलाई आत्मीय सम्बन्ध निर्माणको आधार मान्छन्।

यसअघि समानुपातिकतर्फबाट सांसद भइसकेका घर्तीमगर संसदीय दलका सचेतक पनि थिए। संसदमा कानुन निर्माणसँगै विकास निर्माणका योजनामा ध्यान दिनुपर्ने दायित्वबारे गाउँमा जनतासँग छलफल हुने गरेको उनी बताउँछन्। “जनताले योजना माग्नु स्वाभाविक हो। सांसदले स्थानीय विकासको खाका बनाउन जिम्मेवार हुनुपर्छ,” उनले भने।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा उम्मेदवार वर्षमान पुन भने दुई–तीनवटा सवारीसाधनमा कार्यकर्ता लिएर अभियानमा छन्। उनी गाउँमा पुग्दा साना सभाहरू आयोजना गरिरहेका छन्। कतिपय स्थानमा निर्वाचन आचारसंहिता पालनाबारे प्रश्न उठ्ने गरेको भए पनि पुन पक्षले त्यसलाई नियमित प्रचार कार्यक्रमको रूपमा व्याख्या गरेको छ।

समग्रमा, यसपटकको निर्वाचनमा उम्मेदवारहरूले अपनाएको घरदैलो, सानो टोलीसहितको संवाद र आत्मीय शैलीले गाउँगाउँमा नयाँ प्रकारको चुनावी संस्कार देखिएको छ। मतदातासँग प्रत्यक्ष भेटघाट र सरोकारका विषयमा खुला छलफलमार्फत विश्वास जित्ने प्रयास नै यस निर्वाचनको मुख्य विशेषता बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button