११ बैशाख २०८३, शुक्रबार

सल्यानको माटोदेखि सिंहदरबारसम्म : सांसद रमेश मल्लको पहिलो सम्बोधन

उपसभामुखमा रुबीकुमारी ठाकुरलाई समर्थनसँगै भने "व्यवस्थाको विपक्षमा होइनौं, तर लोकतन्त्रमा अङ्कुश स्वीकार्य छैन"

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका क्रममा शुक्रबार संसदमा पहिलो पटक उभिएर बोलेका नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले सल्यानको माटोलाई नमन गर्दै आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पारे। उनले आफ्नो दलले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय सुनाउँदै सरकारलाई रचनात्मक समर्थन र लोकतन्त्रमाथिका कुनै पनि अङ्कुशविरुद्ध कडा प्रतिवादको चेतावनी दिए।

सम्माननीय सभामुखलाई सम्बोधन गर्दै सांसद मल्लले भने, “पहिलो पटक म संसदमा उभिएर बोल्दैछु। मैले मलाई निर्वाचित गरेर पठाउने सल्यानी सम्पूर्ण बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरूलाई सम्झन चाहन्छु। नमन गर्न चाहन्छु।” उनले निर्वाचनका बेला जनताले आफूहरूप्रति गरेका अपेक्षा र व्यक्त गरेको भावनालाई आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपसभामुख पदमा सर्वसम्मतिको सम्भावना नरहेको सन्दर्भमा उनले भने, “जसरी हामी सम्माननीय सभामुख महोदयलाई यो सदनबाट सर्वसम्मत रूपमा निर्वाचित गर्न सक्यौं, त्यसैगरी उपसभामुखमा पनि सर्वसम्मत रूपमा निर्वाचित गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो। त्यो हाम्रो दलको भावना थियो। तर यो सम्भव भएन।” उनले यस क्रममा राजनीतिक मूल्य र इमानका प्रश्नहरू उठेको उल्लेख गर्दै भने, “राजनीतिमा मूल्यको धेरै ठुलो महत्त्व हुन्छ। इमानको धेरै ठुलो महत्त्व हुन्छ।”

सांसद मल्लले ‘जेनजी’ आन्दोलनलाई लोकतन्त्रको ‘सर्भिसिङ’ को संज्ञा दिँदै श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई त्यसैको प्रतिनिधिका रूपमा अर्थ्याए। उनले भने, “हाम्रो दलको तर्फबाट हामीले श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्ताव गरिनुभएका एउटा मधेशीको छोरी, मधेशको माटोमा जन्मिनुभएको र अञ्जुलीभरि माटो बोकेर निर्वाचनमार्फत् यो सदनसम्म आइपुग्नुभएको नेपालको छोरी, मधेशको छोरी, एउटा नवयुवा, जेन-जी समूहभित्रको, जसरी यो पछिल्लो जेनजी आन्दोलन लोकतन्त्रको सर्भिसिङको निम्ति भएको छ, त्यो आन्दोलनको प्रतिनिधिको रूपमा समेत आज एउटा जिम्मेवार पदमा उम्मेदवारको रूपमा यहाँ खडा हुनुभएको छ, हाम्रो दलको तर्फबाट उहाँलाई समर्थन गर्ने हाम्रो निर्णय म तपाईंहरूको बीचमा सुनाउन चाहन्छु।”

प्रतिपक्षी बेन्चबाट सरकारलाई समर्थन र विरोधको आफ्नो मापदण्ड प्रस्ट पार्दै सांसद मल्लले भने, “सरकारले यदि पछिल्ला आन्दोलनका भावना अनुसार नै आफूलाई अगाडि लिएर बढ्यो र साँच्चै लोकतन्त्रको सर्भिसिङ गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने दिशामा आफूलाई खरो रूपमा उभ्याउँदै अगाडि बढ्यो भने हाम्रो तर्फबाट समर्थन रचनात्मक ढङ्गले रहनेछ। यदि लोकतन्त्रका मूल्यहरूमा, भावनाहरूमा, लोकतान्त्रिक संस्थाहरू, राजनीतिक र नागरिक संस्थाहरूमा कतै अङ्कुश लगाउने कोसिस भयो भने त्यसबेला हामी दृढतापूर्वक त्यसका विरुद्धमा उभिनेछौं।”

आफ्नो सम्बोधनको अन्त्यमा उनले नेपालको लोकतन्त्र र गणतन्त्रका लागि भएका सबै बलिदानलाई स्मरण गर्दै व्यवस्थाको पक्षमा आफ्नो अडान दोहोर्याए। “हामी व्यवस्थाको प्रतिपक्षमा छैनौं, हामी व्यवस्थाको निम्ति सत्ता पक्षमा छौं,” उनले भने, “व्यवस्थामाथि प्रश्नचिह्न खडा गर्ने र व्यवस्थाका विरुद्धमा व्यक्त हुने विचारलाई हामीले समर्थन गर्न सकिँदैन।” यद्यपि, त्यही लोकतन्त्रले व्यवस्था नमान्ने साथीहरूलाई पनि संसदमा उपस्थित गराएको र उनीहरूका विचार व्यक्त गर्ने वातावरण सिर्जना गरेको उनले औंल्याए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button