११ बैशाख २०८३, शुक्रबार

‘सुशासनको मुकुण्डो उत्रियो’

महासचिव पोखरेलको प्रश्न "सभामुखजी, विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आयो ? कर तिरियो कि तिरिएन ?"

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको कडा टिप्पणी गरेका छन्। सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको आरोप लगाउँदै उनले सभामुखको सम्पत्ति विवरणमाथि गम्भीर प्रश्न उठाएका छन्।

पोखरेलले भने, “श्रमिकबाट मालिक बन्नु अपराध होइन। तर, विदेशमा कमाएको भनिएको त्यो सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? सभामुखजीले यसको जवाफ दिनुपर्छ।” उनले सुशासन अरूलाई तर्साउन नभई आफैंले पालना गर्नका लागि हुने बताउँदै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन गरेको आलटालप्रति पनि आपत्ति जनाए।

“एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार छन्। के नयाँ भनिनेहरू तयार छन् ?” भन्दै उनले प्रतिप्रश्न गरे। कार्की आयोगलाई ‘प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दुःख दिने काम भएको आरोप लगाउँदै पोखरेलले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए।

निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै महासचिव पोखरेलले २०६४ सालमा एमाले सकियो भन्नेहरूकै अगाडि २०७० मा पार्टीले पुनरागमन गरेको स्मरण गराए। “एमाले फेरि खरानीको थुप्रोबाट उठ्नेछ र निर्णायक शक्ति बन्नेछ,” उनले दृढता व्यक्त गरे। पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै उनले अब ‘मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने बताए।

यसैगरी, पोखरेलले आगामी नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ को रूपमा मनाउने घोषणासमेत गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button