२२ बैशाख २०८३, मंगलवार

समुद्रको गर्भमा कार्बन भण्डारणको महत्त्वाकांक्षी अभियान

चीनले हाइनानमा सुरु गर्यो पहिलो अपतटीय कार्बन इन्जेक्सन परियोजना, वार्षिक १० लाख टन कार्बन डाइअक्साइड भण्डारण गरिने

हाइनान (चीन) । चीन राष्ट्रिय अपतटीय तेल निगम (सीएनओओसी) ले दक्षिण चीनको हाइनान प्रान्तस्थित डोङफाङ १–१ ग्यास क्षेत्रमा कार्बन सङ्कलन, उपयोग र भण्डारण (सीसीयूएस) परियोजनाको आधिकारिक रूपमा निर्माण सुरु गरेको शनिबार घोषणा गरेको छ। यो परियोजना प्राकृतिक ग्यास उत्पादन बढाउन अपतटीय कार्बन इन्जेक्सन प्रविधि लागू गर्ने चीनकै पहिलो प्रदर्शनकारी पहल हो। पूर्ण रूपमा सञ्चालनमा आएपछि यस परियोजनाले वार्षिक १० लाख टनभन्दा बढी कार्बन डाइअक्साइडलाई समुद्रमुनि स्थायी रूपमा भण्डारण गर्ने लक्ष्य राखेको छ।

ग्यास पुनःप्राप्ति वृद्धिका लागि कार्बन इन्जेक्सन सीसीयूएस प्रविधिको एक विशिष्ट शाखा हो। यसको मूल सिद्धान्त प्राकृतिक ग्यास उत्खननका क्रममा निस्कने कार्बन डाइअक्साइडलाई मूल्यवान स्रोतमा परिणत गर्नु हो। सङ्कलन र शुद्धीकरणपछि कार्बन डाइअक्साइडलाई दबाब दिएर ग्यासयुक्त भण्डारमा पुनः इन्जेक्ट गरिन्छ, जहाँ यसले निकाल्न कठिन प्राकृतिक ग्यास भण्डारहरूलाई बाहिर निकाल्ने चालक शक्तिको रूपमा काम गर्दछ।

सीएनओओसी हाइनानका डोङफाङ १–१ सीसीयूएस परियोजना प्रमुख यु फासोङले भने, “यो पहलले डिकार्बोनाइजेसन प्रक्रियालाई तटीय प्लान्टहरूबाट सिधै अपतटीय प्लेटफर्महरूमा सार्नेछ। यो परिवर्तनले अपतटीय प्राकृतिक ग्यास उत्पादनको स्रोतमै कार्बन न्यूनीकरणको साक्षात्कार गराउँदै परिचालन दक्षता र वातावरणीय प्रदर्शनमा तीव्र वृद्धि गर्नेछ।”

परियोजना सम्पन्न भएपछि यो डोङफाङ १–१ ग्यास क्षेत्रको विद्यमान उत्पादन पूर्वाधारसँग पूर्ण रूपमा जोडिनेछ। यसले यिङ्गेहाई सागर क्षेत्रको समुद्रमुनिको पाइपलाइन सञ्जालको ढुवानी क्षमता अभिवृद्धि गर्ने, उक्त क्षेत्रका थप कार्बनयुक्त प्राकृतिक ग्यास स्रोतहरूको लागत–प्रभावी विकासमा सहयोग पुर्याउने र समग्र डोङफाङ ग्यास क्षेत्र समूहको दीर्घकालीन स्थिर उत्पादनलाई टिकाइराख्न सहयोग गर्ने बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button