‘हिमालमा पग्लिने पानी अन्ततः सागरमै उठ्छ’ : हिन्द महासागर सम्मेलनमा परराष्ट्रमन्त्री खनालको सशक्त सम्बोधन
भूपरिवेष्ठित राष्ट्रको अधिकार र हिमाल–सागर जलवायु सम्बन्धको मान्यताको माग

पोर्ट लुइस (मौरिसस) । परराष्ट्रमन्त्री शिशिर खनालले मौरिससको राजधानी पोर्ट लुइसमा आयोजित नवौं हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्दै नेपालको हिमालय र हिन्द महासागरबीचको गहिरो र जैविक सम्बन्धलाई उजागर गरेका छन्। “हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व” भन्ने नाराका साथ आयोजित सम्मेलनमा मन्त्री खनालले हिमालमा पग्लिने हिउँदेखि सागरको बढ्दो सतहसम्मको पारिस्थितिकीय अन्तरनिर्भरताले साझा विश्वव्यापी प्रतिक्रियाको माग गरेको बताए।
उनले समुद्री कानुनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (यूएनसीएलओएस) अन्तर्गत भूपरिवेष्ठित राष्ट्रहरूको अधिकारलाई पुनः पुष्टि गर्दै न्यायसङ्गतता, अन्तर्राष्ट्रिय कानुन र विश्वव्यापी साझा सम्पदाप्रतिको साझा उत्तरदायित्वमा आधारित समावेशी तथा नियम–आधारित शासनको आह्वान गरे।
परराष्ट्रमन्त्री खनालले भने, “हिमालमा जे पग्लिन्छ, त्यो अन्ततः सागरमै उठ्छ।” उनले नेपालको सगरमाथा सम्बाद मञ्चमार्फत समेत पर्वतीय–सागरीय जलवायु सम्बन्धलाई थप मान्यता दिन आग्रह गरे। उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र र सागरीय क्षेत्रबीचको अन्तरसम्बन्धलाई विश्वव्यापी नीति निर्माणको केन्द्रमा राख्नुपर्नेमा जोड दिए।
नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको तर्फबाट हिन्द महासागर क्षेत्रको शासन, समुद्री सुरक्षा र दिगो विकासका विषयमा राखिएको यो धारणालाई सम्मेलनमा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिहरूले सकारात्मक रूपमा लिएका छन्।





