‘देश जलाउने दलालहरूविरुद्ध कांग्रेस–एमालेसँग पनि संवाद गर्छौं’ : प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश र संविधानलाई संकटबाट बचाउन कांग्रेस र एमालेसँग पनि संवाद गर्न तयार रहेको बताएका छन्। पेरिसडाँडामा बामबुद्धिजीवीहरूसँगको छलफलमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध मोर्चाबन्दी गर्न ठूला दलहरूसँग सहकार्य गर्न सकिने संकेत गरेका हुन्।
प्रचण्डले भने, “संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिकको प्रवक्ता हाम्रो पार्टी हो। त्यो हुनुको नाताले हामीले एकातिर सिंहदरबारदेखि सबै जलाउने दलालहरूबाट देश, संविधान र शान्ति प्रक्रिया बचाउन कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्नेछ। ती हिजोका हाम्रा सहयात्री हुन्। तिनीहरूसँग मिलेर वैदेशिक दलालहरूविरुद्ध जाने हदसम्म संवाद पनि गर्नुपर्ने छ।”
उनले राष्ट्रको स्वतन्त्रता र स्वाधीनतालाई संकटबाट जोगाउन एकताको आवश्यकता रहेको बताउँदै आफूले त्यही सन्देश प्रवाह गरिरहेको बताए।
प्रचण्डले जनताको बुझाइ आफ्नो पार्टीप्रति सकारात्मक रहेको दाबी गर्दै भने, “जनताले पनि राष्ट्रलाई एकताबद्ध राख्न सक्ने, सरकारलाई व्यवस्थित रूपले सञ्चालन गर्न सक्ने अनुभव भएका, स्वच्छ छवि भएका नेताहरूको पार्टी नेपाल कम्युनिस्ट पार्टी नै हो भन्ने बुझ्दै गएका छन्।”
उनले आफ्नो पार्टीमा भएको एकतालाई ऐतिहासिक बताउँदै भने, “यति धेरै पार्टीको एकैचोटि एकता भएको नेपालको इतिहासमै पहिलो पटक हो। २५–२६ वटा सानाठूला समूह एक भएका छन् र ती सबै सक्रिय पनि छन्।”





