अर्थोडक्स इस्टरको पावन अवसरमा रुस–युक्रेन युद्धविराम : पुटिनले घोषणा गरे, जेलेन्स्कीले स्वीकारे, आइतबार मध्यरातसम्म हतियार शान्त

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्थोडक्स इस्टर पर्वको अवसरमा युक्रेनसँग युद्धविरामको घोषणा गरेका छन्। पुटिनले बिहीबार घोषणा गरेको यो युद्धविराम शनिबार दिउँसोदेखि लागू भएको हो र आइतबार मध्यरातसम्म जारी रहनेछ। मस्को समयअनुसार अप्रिल ११ को अपराह्न ४ बजे (१३:०० जीएमटी) देखि अप्रिल १२ को अन्त्यसम्मका लागि यो युद्धविराम लागू गरिएको हो।
रुसी अर्थोडक्स चर्चले पुटिनको यस कदमको स्वागत गरेको छ। यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि किभले युद्धविरामको पालना गर्ने बताएका छन्। लामो समयदेखि जारी द्वन्द्वका बीच धार्मिक पर्वको अवसरमा भएको यो युद्धविरामले दुवै पक्षका जनतालाई केही राहतको अनुभूति गराएको छ।





