११ बैशाख २०८३, शुक्रबार

प्रधानमन्त्री शाहको भारत भ्रमणको सैद्धान्तिक सहमति

मिति टुंगो लाग्न अझै 'लामो तयारी' बाँकी : एक महिनाभित्र विदेश सचिव मिश्री नेपाल आउने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण गर्ने विषयमा दुई देशबीच सैद्धान्तिक सहमति जुटेको छ। तर, भ्रमणको मिति भने तत्काल टुंगो नलाग्ने र यसका लागि लामो तयारी बाँकी रहेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्। मौरिससमा भइरहेको नवौं हिन्द महासागर सम्मेलनका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँगको साइडलाइन वार्तामा यसबारे छलफल भएको थियो।

परराष्ट्रमन्त्री खनालका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाह निर्वाचित भएपछि पठाएको बधाईपत्रमा नै भारत भ्रमणको निम्तो दिएका थिए। त्यसको जवाफमा प्रधानमन्त्री शाहले ‘उचित समयमा’ भारत भ्रमण गर्ने उल्लेख गरिसकेका छन्। विदेशमन्त्री जयशंकरसँगको भेटमा पनि उच्चस्तरीय भ्रमणबारे सैद्धान्तिक सहमति भए पनि मिति तय भने नभएको उनले स्पष्ट पारे। “अन्य द्विपक्षीय विषयसँगै दुई देशबीच उच्चस्तरीय भ्रमणका विषयमा पनि छलफल भएको हो। मिति नै तय भएको होइन,” मन्त्री खनालले भने।

वार्ताका क्रममा मन्त्री खनालले नयाँ सरकारले नेपालको परराष्ट्र नीति र नेपाल–भारत सम्बन्धका विविध आयामबारे समीक्षा गरिरहेको जानकारी गराएका थिए। उनले भने, “नेपाल–भारतबीच अत्यन्तै गहिरो राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध छ। त्यसबारे हामीले अध्ययन गरिरहेका छौं। त्यस क्रममा नेपालले दुई देशको सम्बन्धका प्राथमिकताहरू निर्धारण गर्नेछ।” उनले प्राथमिकता निर्धारणपछि विभिन्न द्विपक्षीय संयन्त्रमार्फत वार्ता र छलफल गर्दै उच्चस्तरीय भ्रमणको तयारी गर्ने प्रस्ताव राखेको र भारतीय विदेशमन्त्रीले यसलाई सकारात्मक रूपमा लिएको बताए।

यसैक्रममा, प्रधानमन्त्रीस्तरीय भ्रमण हुनुअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हुने भएको छ। विदेशमन्त्री जयशंकरले नेपाल सरकारले आफ्ना प्राथमिकताहरू निर्धारण गरिसकेपछि परिचयात्मक तथा सद्भावना भ्रमणका रूपमा विदेश सचिव मिश्रीलाई नेपाल पठाउने जानकारी दिएको मन्त्री खनालले बताए। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेश सचिवको नेपाल भ्रमण एक महिनाभित्रै हुन सक्ने सम्भावना छ। सोही भ्रमणका क्रममा उच्चस्तरीय भ्रमणको प्राविधिक तयारी समेत गरिनेछ। त्यसपछि मात्र दुई पक्षबीचको सहमतिमा प्रधानमन्त्रीको भ्रमणको मिति टुंगो लाग्नेछ।

नेपाल र भारतबीच ४० भन्दा बढी विभिन्न द्विपक्षीय संयन्त्रहरू रहेका र ती संयन्त्रहरूलाई सक्रिय बनाएर दुई देशबीचको संवाद र सहकार्यलाई सघन बनाउने सहमति पनि दुई मन्त्रीबीच भएको छ। यसैगरी, सम्मेलनको साइडलाइनमा मन्त्री खनालले भुटान, बङ्गलादेश, मौरिसस र सिङ्गापुरलगायत मुलुकका विदेशमन्त्रीहरूसँग पनि भेटवार्ता गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button