१७ बैशाख २०८३, बिहीबार

दिल्लीको रुसी सदनमा अन्तरिक्षको गुञ्जन

रुसी नायक अन्तरिक्ष यात्री देलिस मात्भेयेभसँग प्रथम भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको सङ्गम, गागारिनदेखि आजसम्मको यात्रामा चर्चा

नयाँदिल्ली । पहिलो मानव अन्तरिक्ष उडानको ६५औं वार्षिकोत्सवको अवसरमा नयाँदिल्लीस्थित रुसी सदनमा शुक्रबार एक विशेष प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा रुसी नायक तथा अन्तरिक्ष यात्री देलिस मात्भेयेभको विशेष उपस्थिति रहेको थियो भने भारतका लागि रोस्सोत्रुदनिचेस्त्भो प्रतिनिधि कार्यालयकी प्रमुख एलेना रेमिजोभा, नयाँदिल्लीस्थित नेहरू ताराघरका निर्देशक डा. वाई. रवि किरण र प्रथम भारतीय अन्तरिक्ष यात्री राकेश शर्माले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमका क्रममा अन्तरिक्ष यात्री मात्भेयेभले आफ्नो व्यावसायिक यात्रा र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा गरेको कार्यबारे रोचक अनुभव सुनाउँदै उपस्थित दर्शकहरूका विभिन्न जिज्ञासाहरूको सम्बोधन गरे। सहभागीहरूले रुसी अन्तरिक्ष यात्राका अग्रदूतहरू— सैद्धान्तिक वैज्ञानिक कोन्स्तान्तिन सियोल्कोभ्स्की, अन्तरिक्ष यान डिजाइनर तथा इन्जिनियर सर्गेई कोरोल्योभ र पाइलट–अन्तरिक्ष यात्री युरी गागारिनप्रति समर्पित स्मारक पट्टिकामा पुष्पगुच्छा अर्पण गरेका थिए।

यस अवसरमा रुसी सदनको प्राङ्गणमा ‘गागारिनदेखि तपाईंसम्म’ शीर्षकको एक विशेष फोटो प्रदर्शनीको पनि आयोजना गरिएको थियो। रुस र भारतबीचको दशकौं पुरानो अन्तरिक्ष सहकार्य र मित्रताको जीवन्त उदाहरणका रूपमा रहेको यस कार्यक्रमले दुई देशबीचको वैज्ञानिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button