१७ बैशाख २०८३, बिहीबार

प्योङयाङमा वाङ यी र किमको ऐतिहासिक भेट : समाजवादी मुठ्ठी कसिँदै, ‘एक चीन’ मा उत्तर कोरियाको अटल समर्थन

प्योङयाङ । चिनियाँ विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीले शुक्रबार उत्तर कोरियाली मजदुर पार्टीका महासचिव एवं राज्य मामिलाका अध्यक्ष किम जोङ उनसँग प्योङयाङमा भेटवार्ता गरेका छन्। समाचार एजेन्सी सिन्ह्वाका अनुसार वाङले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी जिनपिङको तर्फबाट किमलाई हार्दिक शुभकामना व्यक्त गर्दै उत्तर कोरियाली मजदुर पार्टीको नवौं महाधिवेशन र १५औं सर्वोच्च जनसभाको सफल आयोजनामा बधाई दिए।

वाङले गत सेप्टेम्बरमा किमले चीनको सफल भ्रमण गरेको र चिनियाँ जनताको जापानविरुद्धको प्रतिरोध युद्ध तथा विश्व फासीवादविरोधी युद्धको विजयको ८०औं वार्षिकोत्सवमा सहभागिता जनाएको स्मरण गरे। उनले भने, “सो भ्रमणका क्रममा सी र किमबीच भएको ऐतिहासिक भेटले चीन–उत्तर कोरिया सम्बन्धलाई रणनीतिक मार्गदर्शन प्रदान गरेको छ र नयाँ सम्भावनाहरू खोलेको छ।” वाङले दुई देशबीचको परम्परागत मित्रतालाई नयाँ समकालीन अर्थ दिन आदानप्रदान र अन्तरक्रियालाई तीव्रता दिन चीन तयार रहेको बताए।

राष्ट्रपति सीले चीन र उत्तर कोरिया दुवै कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका समाजवादी देश भएकाले साझा आदर्श, विश्वास र लक्ष्य बोकेको औंल्याएको उल्लेख गर्दै वाङले जटिल र अस्थिर अन्तर्राष्ट्रिय परिस्थितिमा दुई देशले आ–आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्नुपर्ने, प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा सञ्चार र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने र विकासशील देशहरूको साझा हितको रक्षा गर्दै विश्व शान्ति र विकासमा योगदान पुर्याउनुपर्ने बताए।

प्रत्युत्तरमा किमले चिनियाँ प्रतिनिधिमण्डलको नेताका रूपमा वाङलाई न्यानो स्वागत गर्दै राष्ट्रपति सीप्रति आफ्नो हार्दिक शुभकामना र सम्मान व्यक्त गर्न आग्रह गरे। सिन्ह्वाका अनुसार किमले गत सेप्टेम्बरमा चीन भ्रमणका क्रममा सीसँगको भेट अझै ताजा रहेको बताउँदै दुई नेताबीच भएको महत्त्वपूर्ण सहमति ठोस रूपमा कार्यान्वयन भइरहेको देख्न पाउँदा खुशी व्यक्त गरे। उनले उत्तर कोरिया र चीनबीचको सम्बन्ध दुई पार्टी र जनताको इच्छा र आकाङ्क्षाअनुरूप नयाँ उचाइमा पुगेको बताए।

किमले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा नाटकीय परिवर्तन आइरहेका बेला उत्तर कोरिया–चीन सम्बन्धलाई गहिरो र विकसित बनाउनु दुवै देशको साझा हितमा रहेको र यो नै उत्तर कोरियाली पार्टी तथा सरकारको दृढ इच्छाशक्ति र स्थापित नीति भएको जोड दिए। उनले मानवजातिको साझा भविष्य भएको समुदाय निर्माणको दृष्टिकोण र राष्ट्रपति सीद्वारा प्रस्तावित चार विश्वव्यापी पहलहरूलाई पूर्ण समर्थन गर्ने बताउँदै ताइवान मुद्दालगायत राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनको वैध अडान र सबै प्रयासहरूप्रति बलियो समर्थन व्यक्त गरे।

सिन्ह्वाका अनुसार किमले उत्तर कोरियाली मजदुर पार्टीको नवौं महाधिवेशनले स्थापित गरेको भव्य खाकालाई अवसरका रूपमा लिँदै चीनसँग समाजवादमा केन्द्रित मित्रता र सहकार्यको सम्बन्धलाई निरन्तर गहिरो बनाउन, उच्चस्तरीय आदानप्रदानलाई सुदृढ गर्न, रणनीतिक सञ्चार अभिवृद्धि गर्न, एकअर्कालाई दृढ पारस्परिक समर्थन प्रदान गर्न र दुई देशको समाजवादी कार्यलाई अगाडि बढाउन इच्छुक रहेको बताए।

उत्तर कोरियाली विदेश मन्त्रालयको निमन्त्रणामा वाङ यी बिहीबारदेखि शुक्रबारसम्म उत्तर कोरियाको भ्रमणमा रहेका थिए। भ्रमणका क्रममा उनले उत्तर कोरियाली विदेशमन्त्री छोए सोन हुईसँग गहन वार्ता गर्नुका साथै काङडोङ काउन्टीस्थित चिनियाँ जन स्वयंसेवक सहिदहरूको चिहानमा श्रद्धाञ्जलि अर्पण गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button