बिहारमा बस र पिकअप ठाेक्किँदा १० को मृत्यु, २५ घाइते

कटिहार (बिहार) । भारतको पूर्वी राज्य बिहारको कटिहार जिल्लास्थित गेराबारी नजिक शनिबार एक यात्रुवाहक बस र पिकअप भ्यानबीच भएको भीषण ठक्करमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। प्रहरीका अनुसार राजधानी पटनादेखि करिब २७९ किलोमिटर पूर्वमा पर्ने उक्त स्थानमा भएको दुर्घटनापछि प्रहरीले मुद्दा दर्ता गरी घटनाको अनुसन्धान सुरु गरेको छ।
घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको र मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ। भारतका केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा वार्षिक करिब पाँच लाख सडक दुर्घटना हुने गर्दछन्, जसमा झन्डै एक लाख असी हजार मानिसले ज्यान गुमाउने गरेका छन्।





