श्रीलंकामा साक्षरताको कीर्तिमान
१४३ वर्षको इतिहासमा पहिलोपटक लैङ्गिक अन्तर शून्य, ९७.४ प्रतिशत जनता साक्षर

कोलम्बो । श्रीलंकाको समग्र साक्षरता दर सन् २०२४ सम्म आइपुग्दा ९७.४ प्रतिशत पुगेको छ र साक्षरतामा रहेको लैङ्गिक अन्तर पूर्ण रूपमा बन्द भएको जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ। विभागकी महानिर्देशक श्यामली करुणारत्नेका अनुसार सन् १८८१ मा जनगणना सुरु भएयताकै पहिलोपटक पुरुष र महिला साक्षरता दर लगभग बराबरीको स्तरमा पुगेको छ, जहाँ पुरुष साक्षरता ९७.९ प्रतिशत र महिला साक्षरता ९७.० प्रतिशत रहेको छ। यसैगरी, डिजिटल साक्षरता ६७.६ प्रतिशत पुगेको उनले बताइन्।
‘जनसङ्ख्या तथा आवास जनगणना २०२४’ को प्रतिवेदन सार्वजनिक गर्दै महानिर्देशक करुणारत्नेले श्रीलंकाको कुल जनसङ्ख्या २ करोड १७ लाख ८१ हजार ८ सय रहेको र राष्ट्रिय जनघनत्व प्रतिवर्ग किलोमिटर ३५० जना रहेको जानकारी दिइन्। उनले कुल प्रजनन दर घटेर १.३ मा झरेको बताइन्, जुन प्रतिस्थापन स्तरभन्दा तल हो। प्रत्येक १०० बालबालिकाको तुलनामा ८७ जना वृद्धवृद्धा रहेको र औसत उमेर सन् २०१२ को जनगणनामा ३० वर्ष रहेकोमा बढेर ३५ वर्ष पुगेको उनले बताइन्।
प्रतिवेदनअनुसार कुल ३२ लाख २३ हजार ४१३ जना अर्थात् प्रति १ हजार जनसङ्ख्यामा १५७ जनाले कम्तीमा एक शारीरिक वा मानसिक कठिनाइ भएको जनाएका छन्। तीमध्ये ७ लाख २७ हजार २९३ जनामा दृष्टि, श्रवण, गतिशीलता, बोधशक्ति, आत्महेरचाह र सञ्चार गरी छवटा प्रमुख कार्यात्मक क्षेत्रहरूमा उल्लेखनीय अपाङ्गता रहेको पहिचान गरिएको छ। करिब १९.२ प्रतिशत जनसङ्ख्या अर्थात् ४१ लाख ८० हजार मानिस गैरसञ्चारीय रोगहरूबाट पीडित रहेको पनि प्रतिवेदनले देखाएको छ। यसैगरी, कुल ६ लाख ७२ हजार २४९ जना श्रीलंकाली नागरिकहरू अस्थायी रूपमा विदेशमा बसोबास गरिरहेका छन्, जसमध्ये अधिकांश पुरुष रहेको महानिर्देशक करुणारत्नेले जानकारी दिइन्।





