मेट्रो मनिलामा डम्पिङ साइटको आगोले निम्त्यायो विषाक्त धुवाँको बादल
वायु गुणस्तर 'अस्वस्थकर', सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह

मनिला (फिलिपिन्स) । फिलिपिन्सको राजधानी क्षेत्र मेट्रो मनिला पछिल्ला केही दिनदेखि एक ल्यान्डफिल (डम्पिङ साइट) मा लागेको आगोका कारण उत्पन्न बाक्लो धुवाँको बादलले ढाकिएको छ। स्थानीय सञ्चारमाध्यमहरूले आइतबार दिएको जानकारी अनुसार अप्रिल १० मा नाभोटास सहरस्थित उक्त ल्यान्डफिलमा आगलागी सुरु भएको थियो, जसको धुवाँ आसपासका कैयौं सहरहरूमा फैलिँदा वायुको गुणस्तरमा गम्भीर असर परेको छ।
शनिबारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ले त्यहाँको वायुको अवस्थालाई ‘अस्वस्थकर’ देखि ‘अत्यन्तै अस्वस्थकर’ सम्मको वर्गीकरण गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसैबीच, क्वेजोन सिटीलगायत मेट्रो मनिलाका स्थानीय सरकारहरूले बासिन्दाहरूलाई सकेसम्म घरभित्रै बस्न, वायु शोधक यन्त्र (एयर प्युरिफायर) प्रयोग गर्न वा एन-९५ मास्क लगाउन आग्रह गरेका छन्। लामो समयसम्म यस्तो धुवाँको सम्पर्कमा रहँदा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरूको स्वास्थ्यमा जोखिम हुनसक्ने चेतावनी पनि दिइएको छ।
नाभोटास सहर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त ल्यान्डफिल नाभोटास सहर स्थानीय सरकार इकाइको स्वामित्वमा नरहेको र यसको सञ्चालन सन् २०२५ को अगस्टमै बन्द भइसकेको थियो। हाल यस घटनालाई ल्यान्डफिलको फोहोरको थुप्रोमा लागेको आगोका रूपमा लिइएको छ र आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।
अधिकारीहरूले आइतबार आगो नियन्त्रणमा आइसकेको जानकारी दिएका छन्। उक्त ल्यान्डफिल नाभोटास सहरबाट टाढा एउटा टापुमा अवस्थित रहेकाले आगो निभाउने प्रयासहरू जटिल बनेका थिए। यो धुवाँको बादल कति समयसम्म रहन्छ भन्ने कुरा आगोको अवस्था र मौसमी परिस्थितिमा निर्भर रहने बताइएको छ।





