‘बोल्न देऊ’ भन्ने प्रधानमन्त्रीकै पालामा आलोचक पत्रकार पक्राउ, साइबर ब्यूरोद्वारा युट्युबर रोशन पोखरेल नियन्त्रणमा

काठमाडौं । ‘मलाई बोल्न दे सरकार’ भन्ने नारासहित प्रधानमन्त्री पदमा आसीन वालेन्द्र शाहकै कार्यकालमा उनको आलोचना गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन्। प्रहरीको साइबर ब्यूरोले पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ स्थायी घर भएका युट्युबर रोशन पोखरेललाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पोखरेलले ‘एचएडिएस’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए र प्रधानमन्त्री शाहविरुद्ध अपशब्द प्रयोग गरी अपमानजनक सामग्री निर्माण तथा प्रकाशन गरेको आरोप लागेको छ। साइबर ब्यूरोको अनुसन्धानका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आरोपित सामग्री पछि युट्युबबाट हटाइए पनि उनीविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ।
उमेरले जेनजी रहेका पोखरेलले समसामयिक घटनाक्रमलाई आम मानिसले कसरी हेर्छ भन्ने आशयका सामग्रीहरू बनाउँदै आएका थिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पनि चर्को आलोचना गरेको पाइन्छ। ‘बोल्न पाउने अधिकार’ को पक्षमा उभिएर सत्तारोहण गरेका प्रधानमन्त्रीकै कार्यकालमा आलोचक पत्रकार पक्राउ परेको यो घटनाले अभिव्यक्ति स्वतन्त्रताको विषयलाई पुनः बहसमा ल्याएको छ।





