२९ चैत्र २०८२, आईतवार

तेलको मूल्य बढेपछि बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि : न्यूनतम भाडा २४ रुपैयाँ, ट्याक्सीको फ्ल्यागडाउन ५८

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि बागमती प्रदेश सरकारले शनिबार (चैत २८) देखि लागू हुने गरी सार्वजनिक सवारी साधनको नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै यो व्यवस्था लागू गरेको हो।

मन्त्रालय मातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको सिफारिसअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको न्यूनतम भाडा १९ रुपैयाँबाट ५ रुपैयाँ वृद्धि गरी २४ रुपैयाँ पुर्याइएको छ। यस्तै, १० किलोमिटरसम्म ३३, १५ किलोमिटरसम्म ३९, २० किलोमिटरसम्म ४४ तथा २० किलोमिटरभन्दा माथि ५० रुपैयाँ भाडादर कायम गरिएको छ। ट्याक्सी सेवामा पनि भाडा वृद्धि गरिएको छ, जसअनुसार फ्ल्यागडाउन ५८ रुपैयाँ र प्रत्येक २०० मिटरका लागि १२ रुपैयाँ कायम गरिएको छ।

उपत्यका बाहिर सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको हकमा साविक भाडादरमा १७.३५ प्रतिशत वृद्धि गरिएको छ भने मालवाहक सवारी साधनको भाडा प्रतिटन प्रतिकिलोमिटर १४.८० रुपैयाँबाट बढाएर १८.७६ रुपैयाँ कायम गरिएको छ। विद्युतीय सवारी साधनको भाडादर भने यथावत राखिएको छ। प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्यमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा सोहीअनुसार भाडादर पुनः समायोजन गरिने जनाएको छ।

यसैबीच, भाडा समायोजनअघि नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ र महासचिव बद्रीप्रसाद चौलागाईंसहितको टोली मन्त्रालय पुगेर इन्धन मूल्यवृद्धि, सञ्चालन खर्चमा भएको वृद्धि र ढुवानी क्षेत्रमा परेको दबाबका कारण भाडा समायोजन आवश्यक रहेको धारणा राखेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button