२९ चैत्र २०८२, आईतवार

सुदूरपश्चिमको सपना साकार : गेटामा एमबीबीएस पढाइ सुरु हुँदै, ५० सिटका लागि आवेदन

गेटा (कैलाली) । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने भएको छ। विश्वविद्यालय सभाको बुधबार बसेको बैठकले एमबीबीएसलगायत मेडिकल शिक्षा सञ्चालनसँग सम्बन्धित ६ वटा नियमावली पारित गरेको छ।

विश्वविद्यालय सभाको बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि, युवा र खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि मेडिकल शिक्षाको अध्यापन सुरु गर्ने गरी तयारी थालिएको बताए। उनले सरकारले विश्वविद्यालय सञ्चालन र मेडिकल अध्ययनलाई प्राथमिकता राखेको समेत बताए। “आर्थिक हिसाबले कुनै कमीकमजोरी नहोस् भन्ने प्रधानमन्त्रीको पनि निर्देशन छ। अर्थ मन्त्रालय पनि सकारात्मक छ,” मन्त्री पोखरेलले भने।

विश्वविद्यालय सभाका सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चिकित्सा शिक्षा सञ्चालन गर्ने र गेटा अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने सम्बन्धमा यसअघि नै निर्णय भइसकेको बताए। विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनीलकुमार जोशीले चिकित्सा शिक्षा आयोगसमक्ष ५० एमबीबीएस, ३० बीएस्सी नर्सिङ, २० मेडिकल ल्याब टेक्नोलोजी र २० बीएस्सी अप्टोमेटरीमा सिटका लागि आवेदन दिइएको जानकारी दिए।

गेटामै पहिलो पटक बसेको विश्वविद्यालय सभाको यो बैठकले अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ५८ करोड बजेट माग गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ। उपकुलपति जोशीले विश्वविद्यालयले ८ फागुनमै २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिसकेको र चालु आर्थिक वर्षको जेठ र असारका लागि चिकित्सकहरूको पारिश्रमिकलगायतका लागि ५ करोड बजेट प्राप्त भइसकेको जानकारी दिए।

कैलाली–५ का सांसद आनन्दबहादुर चन्दले यहाँ शिक्षण अस्पताल सञ्चालन भए यस क्षेत्रबाट उपचारका लागि भारत धाउनुपर्ने बाध्यता हट्ने बताए। “अहिलेसम्म शिक्षण अस्पताल नभएको सुदूरपश्चिममा मेडिकल शिक्षा पढाइ एउटा सपना थियो। अब त्यो साकार हुने घडीमा पुगेका छौं,” उनले भने।

२०७७/७८ मा करिब ७ अर्ब खर्चिएर गेटामा २८ वटा अत्याधुनिक भवनसहित ४२ वटा भौतिक संरचनाको निर्माण पूरा भएको थियो। २०७९ माघ २९ मा मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। हाल सञ्चालित गेटा अस्पतालमा ओपीडी, विभिन्न शल्यक्रिया सेवा, प्रयोगशाला, भिडियो एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, मेमोग्राफी र इन्डोस्कोपी सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button