नेपालको कुल निकासी ५७ प्रतिशतले बढ्यो तर धागो, चिया, प्लाइउड, फलाम उत्पादनको निर्यात घट्यो

काठमाडौं । मुलुकको कुल निकासी व्यापार ५७ प्रतिशतले बढेर दुई खर्ब नजिक पुगे पनि निर्यात व्यापारका महत्वपूर्ण वस्तुहरूको निकासी भने घटेको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवको आठ महिना (साउनदेखि फागुनसम्म) मा नेपालले १ खर्ब ९१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ। सो अवधिमा भटमासको तेलको हिस्सा मात्र ३९.६५ प्रतिशत अर्थात् सवा खर्ब हाराहारीमा रहेको छ। तेलका कारण समग्र निर्यात बढेको देखिए पनि निकासीजन्य क्षेत्रका मेरुदण्ड मानिने धागो, ऊनी गलैंचा, चिया, प्लाइउड, फलाम र स्टीलका उत्पादन लगायतको निर्यात ह्वात्तै घटेको छ।
केन्द्रका अनुसार नेपालबाट युरोपसम्म निकासी हुँदै आएको धागोको निकासी झन्डै २ प्रतिशतले घटेर ९ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस अवधिमा ९ अर्ब २२ करोडको धागो निकासी भएको थियो। यस्तै, ऊनी गलैंचाको निर्यातमा ९.३३ प्रतिशतले गिरावट आएको छ। अघिल्लो वर्ष ७ अर्ब २१ करोडको ऊनी गलैंचा निर्यात भएकोमा यस वर्षको फागुनसम्म ६ अर्ब ५३ करोडमा निकासी खुम्चिएको छ। नेपालको ऊनी गलैंचाको मुख्य बजार जर्मनी लगायतका युरोपेली मुलुक भए पनि केही वर्षयता ती मुलुकमा नेपाली वस्तुको बिक्री घट्दै गएको छ।
भारतलगायत पश्चिमी मुलुकमा निकै रुचाइएको नेपाली चियाको निकासी पनि ह्वात्तै घटेको छ। आठ महिनामा चिया निकासी २२.६३ प्रतिशतले घटेर २ अर्ब ६७ करोडमा सीमित भएको छ। अघिल्लो वर्षको फागुनसम्ममा ३ अर्ब ४६ करोडको चिया निकासी भएको थियो। यस्तै, फलाम तथा स्टिलका उत्पादनको निर्यातमा भारी गिरावट देखिएको छ। दुई वर्षअघिसम्म निर्यातमा पहिलो स्थानमा रहेको जस्तापाता लगायतका फलाम तथा स्टिलका उत्पादनको निकासी चालु आवको फागुनसम्ममा ७७.२८ प्रतिशतले घटेर २ अर्ब ३४ करोडमा सीमित भएको छ। अघिल्लो फागुनसम्ममा १० अर्ब ३२ करोडको निर्यात भएको थियो।
नेपाली प्लाइउड भारतमा निकै रुचाइएको भए पनि चालु आवमा निर्यात कायम रहन सकेन। केन्द्रका अनुसार फागुनसम्म प्लाइउड निर्यातमा ४५.२१ प्रतिशतले गिरावट देखिएको छ। अघिल्लो फागुनसम्म ५ अर्ब ८८ करोडको प्लाइउड निकासी भएकोमा चालु आवमा ३ अर्ब २२ करोडमा सीमित भएको छ। यस्तै, आयल केक (पीना) निर्यातमा पनि १.४४ प्रतिशतको गिरावट देखिन्छ। नेपाली हातेकागज तथा कागजबाट बनेका वस्तुहरू, अम्रिसोबाट बन्ने कुचो, चाँदीका भाँडाकुँडा लगायतका वस्तुको निकासीमा पनि उल्लेख्य गिरावट आएको छ।
यता, कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैंचीको निर्यात ६२.४१ प्रतिशतले वृद्धि भई ९ अर्ब ५० करोड पुगेको तथा अदुवाको निर्यात ७५.३३ प्रतिशतले वृद्धि भई ८२ करोड ८५ लाख पुगेको केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले बताए। यस अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा सोयाविन तेल, अलैंची, यार्न (धागो), जुट तथा जुटका सामान, ऊनी गलैंचा, तयारी पोशाक, पाम तेल रहेका छन्। यसैगरी, सूर्यमुखी तेल, ऊनी फेल्टका उत्पादन, जुस, चिया, फलाम तथा फलामका उत्पादनहरू, प्लाइउड, पश्मिना शल, पिना, चाउचाउ, जुत्ताचप्पल, कत्था, सिमेन्ट, कपडा, कुकुर बिरालाको आहार, जडीबुटी र नेपाली हाते कागज प्रमुख रूपमा निकासी भएको जनाइएको छ।





