१० बैशाख २०८३, बिहीबार

प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण सार्वजनिक

बैंकमा १ करोड ४६ लाख, १९० तोला सुन, फेसबुक र युट्युब पनि सम्पत्तिको स्रोत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरण अनुसार उनको बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको छ। उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन्। विवरणमा उनले फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन्।

प्रधानमन्त्री शाहको नाममा काठमाडौंमा पाँच आना जग्गा रहेको पनि विवरणमा उल्लेख छ। पारिवारिक सम्पत्तितर्फ धनुषामा १.२ बिघा जग्गा उनकी आमा ध्रुवदेवी शाहको नाममा रहेको छ। उनकी श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको उल्लेख छ, जसलाई पैतृक सम्पत्तिको रूपमा जनाइएको छ।

बालेन शाह नेतृत्वको रास्वपा सरकारका अन्य पदाधिकारीहरूको सम्पत्ति विवरण पनि सार्वजनिक हुन लागेको छ। स्रोतका अनुसार सबैको विवरण संकलन गरी प्रधानमन्त्री कार्यालयको वेबसाइटमा डाउनलोड गर्न लागिएको छ। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले विवरण बटुले पनि जनतालाई जानकारी दिएको थिएन। प्रधानमन्त्री शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै सरकारी पारदर्शिताको नयाँ उदाहरण प्रस्तुत गरेका छन्। यसलाई सुशासन र पारदर्शितातर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button