२९ चैत्र २०८२, आईतवार

प्रतिनिधिसभा नियमावली संशोधनको तयारी : विधेयक दर्तादेखि महाअभियोगसम्मका प्रावधान पुनरावलोकन हुँदै

काठमाडौं । प्रतिनिधिसभाको कामकारबाहीलाई नियमन तथा सुव्यवस्थित तुल्याउन ‘प्रतिनिधिसभा सञ्चालन नियमावली’ मा संशोधनको तयारी अघि बढेको छ। सभाका सदस्य गणेश पराजुलीको नेतृत्वमा ६ वटै दलका सांसदहरू सम्मिलित मस्यौदा समितिले केही प्रावधान सच्याउन लागेको हो। आज सिंहदरबारमा बसेको बैठकमा विधेयक दर्ता तथा सभामा छलफलको समय निर्धारणदेखि महाअभियोग प्रक्रियालाई थप स्पष्ट बनाउनेसम्मको विषयमा छलफल चलेको समिति सदस्यहरूले बताएका छन्।

मस्यौदा समितिकी सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले विधेयक दर्ताअघि र पछि समय निर्धारण, सरकारी तथा गैरसरकारी विधेयकसम्बन्धीको व्यवस्थाका विषयमा छलफल भएको जानकारी दिइन्। उनका अनुसार संविधान संशोधन कसरी हुन सक्छ भन्नेबारे पनि बैठकमा कुरा भएको छ।

विधेयक दर्ता र छलफलसम्बन्धी प्रावधान प्रतिनिधिसभा नियमावली, २०७९ को १५ देखि १८ परिच्छेदमा रहेको छ। प्रतिनिधिसभाको बैठक कसरी बस्ने, कति बेला बस्ने र कुन विषयलाई कति समय दिने भन्नेजस्ता कार्यविधि यसैअन्तर्गत तय गरिन्छ। संसदीय समितिहरूको कार्यक्षेत्र तोक्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन ‘प्रश्न–उत्तर’ लगायतका विशेष व्यवस्थाहरूको सुनिश्चितता पनि नियमावलीले नै गर्छ। यसलाई समयानुकूल बनाउन केही संशोधन जरुरी देखिएको सांसदहरू बताउँछन्।

‘आजको बैठकमा हामीले विधेयकहरू दर्ता गर्नुभन्दा पहिले र दर्ता गरिसकेपछि कति समय दिने भन्ने विषयमा छलफल गर्यौं,’ सांसद शर्माले भनिन्, ‘महाअभियोगको प्रस्ताव, संविधान संशोधन कसरी हुन सक्छ ? भन्ने विषयमा पनि छलफल भएको छ, तर निष्कर्ष निस्किएको छैन।’

नियमावलीमा रहेका केही उपनियमहरू संशोधन गर्नेगरी छलफल चलिरहेको अर्का सदस्य निश्कल राईले जानकारी दिए। उनले पनि परिच्छेद १५ अन्तर्गतको व्यवस्थापन कार्यविधिदेखि परिच्छेद १९ मा रहेको महाअभियोग प्रस्तावसम्बन्धी प्रावधान पुनरावलोकनको विषयमा छलफल केन्द्रित रहेको बताए।

‘आजको बैठकमा हामीले नियमावलीको परिच्छेद १५ मा रहेको व्यवस्थापन कार्यविधिदेखि परिच्छेद १९ सम्मको महाभियोग प्रस्तावसम्बन्धी विषयमा केही छलफल गरेका छौं,’ सांसद राईले भने, ‘उपनियमहरूको विषयमा सच्याउने कुरा यी परिच्छेदका र धाराका विषयमा छलफल गरिरहेका छौं। तर निष्कर्षमा पुगिसकेका छैनौं। अन्तिम निष्कर्षमा पुग्ने प्रयास गरिरहेका छौं।’

मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभालाई व्यवस्थित, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यसहित नियमावली मस्यौदामा काम भइरहेको बताए। २०७९ सालको प्रतिनिधिसभा नियमावलीलाई आधार मानेर आवश्यक सुधार गर्दै नयाँ नियमावली तयार पार्न लागेको उनले जानकारी दिए। समितिको अर्को बैठक भोलि बिहान ८ देखि ११ बजेसम्मका लागि तय गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button