गृहमन्त्री गुरुङको सम्पत्ति सार्वजनिक
बाजेको नाममा गोरखामा २२१ रोपनी, सेयरमा सवा दुई करोड, ८९ तोला सुन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनी र उनको परिवारको नाममा ठूलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, बैंक मौज्दात, सवारी साधन र पैतृक सुन रहेको उल्लेख छ।
विवरणअनुसार गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ भने उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा उल्लेख गरिएको छ। विशेषगरी, उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी विशाल जग्गा रहेको सम्पत्ति विवरणमा जनाइएको छ।
सेयर बजारमा पनि गृहमन्त्री गुरुङको उल्लेख्य लगानी देखिएको छ। होप होल्डिङ प्रालिको ३० हजार कित्ता र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयरसहित धितोपत्र बजारमा कारोबार हुने विभिन्न कम्पनीका सेयरहरूमा गरी कुल २ करोड ७४ लाख ५६ हजार रुपैयाँको लगानी देखाइएको छ। यस्तै, एडभेन्चर भिल्ला प्रालिको ७० हजार कित्ता सेयर अर्थात् ७० लाख रुपैयाँ पनि उनले आफ्नो सम्पत्तिमा उल्लेख गरेका छन्।
सवारी साधनतर्फ गृहमन्त्री गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टको एक थान कार रहेको खुलाइएको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ। बैंक मौज्दाततर्फ लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार, नबिल बैंकमा ५६ लाख २५ हजार र सानिमा बैंकमा १५ सय रुपैयाँ रहेको जनाइएको छ। गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन्, जसलाई पैतृक सम्पत्ति भनी जनाइएको छ।





