२९ चैत्र २०८२, आईतवार

शिक्षामन्त्री पोखरेलको सम्पत्ति सार्वजनिक : कुल २४ करोड १६ लाख, काठमाडौंमा ९ करोडका दुई घर, सेयरमा सवा करोड

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएका छन्। यसमा करोडौं मूल्यका घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र विभिन्न कम्पनीका सेयर लगानी समावेश छन्।

विवरणअनुसार मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौंमा ४ करोड रुपैयाँ मूल्यको अढाई तले घर र मूलपानीमा ५ करोड रुपैयाँ बराबरको ६ आना जग्गा रहेको छ। मोरङमा पनि १ करोड रुपैयाँ मूल्यको १ कठ्ठा जग्गा उनको नाममा उल्लेख छ। पारिवारिक सम्पत्तिको रूपमा उनका बुवाको नाममा काठमाडौंमा साढे २ करोड रुपैयाँको घडेरी, आमा मिनाक्षी पोखरेलको नाममा गोदावरी र गोकर्णेश्वरमा गरी ३ करोड रुपैयाँ बराबरको जग्गा, र सम्पूर्ण परिवारको नाममा गोदावरीमै ५ करोड रुपैयाँ मूल्यको ११ रोपनी ४ आना जग्गा रहेको विवरणमा उल्लेख छ।

मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको कुल मूल्य ७५ लाख रुपैयाँ जनाइएको छ। यी सम्पत्तिहरू आमाको दाइजो, बुवाको जागिर र पैतृक सम्पत्तिबाट प्राप्त भएको उनले खुलाएका छन्। बैंक मौज्दाततर्फ सानिमा बैंक र एनआईसी एसिया बैंकमा गरी कुल ४ लाख ४८ हजार रुपैयाँ रहेको छ। यसैगरी, विभिन्न कम्पनीका सेयरमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ लगानी रहेको पनि सम्पत्ति विवरणमा जनाइएको छ।

सवारी साधनतर्फ बुवाको नाममा ७० लाख रुपैयाँ पर्ने एक थान ईभी कार र मन्त्री पोखरेलको व्यक्तिगत नाममा झन्डै ४० लाख रुपैयाँ पर्ने अर्को कार रहेको उल्लेख छ। उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि आफ्नो विवरणमा जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button