पाकिस्तानबाट फर्किंदै गर्दा कालिबाफको चेतावनी : ‘अमेरिकाले इरानी जनताको विश्वास जित्नुपर्छ, यही एक मात्र निकासको बाटो’

तेहरान । इरानी संसद अध्यक्ष मोहम्मद बाकेर कालिबाफले अमेरिकाले वर्तमान परिस्थितिबाट निकास पाउने एक मात्र उपाय भनेको आफ्नो निर्णय लिनु र इरानी जनताको विश्वास हासिल गर्नु रहेको बताएका छन्। उनले यो टिप्पणी पाकिस्तानको भ्रमणबाट स्वदेश फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै गरेका हुन्।
इस्लामाबादमा कालिबाफले आफ्नो टोलीसहित अमेरिकी प्रतिनिधिमण्डलसँग शान्ति वार्तामा भाग लिएका थिए। यद्यपि, वार्ता बिना सम्झौता टुङ्गिएको थियो। स्वदेश फर्किने क्रममा उनले अमेरिकाले इरानप्रति आफ्नो नीति र दृष्टिकोण परिवर्तन नगरेसम्म कुनै पनि प्रकारको सम्झौताको सम्भावना कमजोर रहने सङ्केत गरेका छन्। कालिबाफको यो अभिव्यक्तिले तेहरानले वासिङ्टनसँगको कुनै पनि वार्तामा आफ्नो राष्ट्रिय स्वाभिमान र जनताको विश्वासलाई सर्वोपरि राख्ने अडानलाई पुनः पुष्टि गरेको छ।





