१० बैशाख २०८३, बिहीबार

प्रधानमन्त्री बालेनसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : उद्योगमन्त्री गौरीकुमारीसँग सबैभन्दा बढी १८० तोला सुन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २९ चैतमा सार्वजनिक गरेको छ। नयाँ सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्रीसहित सबै मन्त्रीले विवरण सार्वजनिक गरेका हुन्।

सार्वजनिक भएको विवरण अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी सँग सबैभन्दा बढी १८० तोला सुन रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गरगहना १९० तोला रहेको उल्लेख गरेका छन् तर सुन, चाँदी, हिरा भनेर खुलाएका छैनन्। गृहमन्त्री सुधन गुरुङले ८९ तोला र श्रममन्त्री रामजी यादवले ८० तोला सुन रहेको जनाएका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेको ४५ तोला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको ३० तोला, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेताको ३० तोला, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको २५ तोला, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको २५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालको २२ तोला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीको १८ तोला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको १५ तोला, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको १५ तोला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको ११ तोला, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाको करिब ७ तोला र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको ५ तोला सुन रहेको विवरणमा उल्लेख छ।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी तथा प्रश्नहरू उठ्न थालेका छन्। धेरैको चासो सम्पत्तिको स्रोत र मन्त्रीहरूको गरगहनाको विषयमा केन्द्रित देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button