अर्थमन्त्री वाग्लेदेखि प्रधानमन्त्री बालेनसम्म : सम्पत्ति विवरणमा ‘सापटी’ देखि ‘फलोअर्स’ सम्म, विदेशी खाता नखुलाएपछि उठे प्रश्न

काठमाडौं । आफैंले बुझाएको सम्पत्ति विवरणका कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विवादमा मुछिएका छन्। उनले हिमालयन बैंक, सानिमा बैंक र स्टान्डर्ड चार्टर्ड बैंकस्थित खातामा कूल १ करोड ९० लाख नगद रहेको स्वीकार्दै उक्त रकमको स्रोत श्रीमान् र श्रीमतीको आय एवम् सापटी हो भनेका छन्। श्रीमती विदेशी नागरिक हुन् भने वाग्लेले लामो समय विदेशी दातृ संस्थाहरूमा काम गरिसकेका छन्। यसबाट उनको आम्दानी नेपाली रुपैयाँमा भन्दा बढी विदेशी मुद्रामा रहेको स्वतः प्रमाणित हुन्छ। उनले देखाएको घरजग्गाको विवरणमा स्रोत अन्तर्राष्ट्रिय रोजगारी र श्रीमतीको आय जनाएका छन्। विभिन्न कम्पनीमा रहेको करोडौंको सेयरको स्रोत पनि त्यसैलाई देखाएका छन्। तर, डलर एकाउन्ट र सो एकाउन्टमा रहेको विदेशी मुद्राको विवरण भने खुलाएनन्।
३० वर्षअघि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले विदेशको खाता र त्यसमा भएको विदेशी मुद्राको विवरण सार्वजनिक नगरेका कारण राजीनामा दिनुपरेको थियो। विवरण सार्वजनिक भएपछि मात्र उनी पुनः मन्त्री नियुक्त हुन सकेको नजिर नेपाली राजनीतिमा छ। तर वाग्लेले यसबारे केही उल्लेख गर्न चाहेनन्। वाग्लेले आफ्नो खातामा झन्डै २ करोड रुपैयाँ हुँदाहुँदै गत निर्वाचनअघि ३ करोड ५५ लाख बैंकबाट ऋण लिएको देखाएका छन्। त्यसमध्ये १ करोड ५ लाख रुपैयाँ निर्वाचन आचारसंहिता लागिसकेपछि ग्लोबल आइएमई बैंकबाट ऋण लिएको पनि शंकास्पद देखिन्छ।
उता प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो बैंक खातामा अन्य कुनै आम्दानी देखाएनन्। साढे तीन वर्ष काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्राप्त पारिश्रमिकबारे कुनै उल्लेख नगर्नु पनि आशंका बढाउने प्रसङ्ग हो। जबकि उनले सम्पत्तिको नाममा सामाजिक सञ्जालमा रहेका आफ्ना लाखौं फलोअर्सको संख्या टिपोट गरेका छन्। प्रचलित कानुनको परिधिभित्र रहेर भर्नुपर्ने सम्पत्ति विवरणमा प्रधानमन्त्री र मन्त्रीहरूले कामचलाउ भाषा प्रयोग गरेको देखिन्छ। अधिकांशले खातामा पचासौं लाख, करोड रुपैयाँ बचत देखाएर अर्कोतर्फ बैंकबाट लिएको ऋण उल्लेख गर्नुले झन् ठूलो आशंका बढाएको छ। बचतवापत प्राप्त हुने ब्याजभन्दा ऋणको महँगो ब्याज तिर्न को तयार होला ?
अर्थमन्त्री वाग्लेले बैंकमा रहेको झन्डै २ करोड बचतको स्रोत पनि सापटी देखाएका छन्। उनैले बैंकहरूबाट लिएको ऋण पनि सोही विवरणमा उल्लेख गर्नुले सापटी लिएर बचत गर्दै बैंकको ऋण लिएको देखाएको विवरण कति यथार्थ र व्यवहारिक होला भन्ने शंका जन्माउने नै भयो। सम्पत्ति विवरण सार्वजनिक भएपछि अब यी प्रश्नको जवाफ दिनु अर्थमन्त्री वाग्लेदेखि प्रधानमन्त्री बालेनसम्म सबैको दायित्व बनेको छ।





