३० चैत्र २०८२, सोमबार

पाँच वर्षमा ४५ करोड अनुदान : ९१५ किसान लाभान्वित, एउटै समूहले पाँच करोड ५० हजार पायो

नवलपरासी – जिल्ला कृषि विकास कार्यालयले गत पाँच आर्थिक वर्षको अवधिमा करिब ४५ करोड रुपैयाँ अनुदान वितरण गरेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म कुल ४४ करोड ७१ लाख ७३ हजार ८५१ रुपैयाँ अनुदान ९१५ जना किसानलाई वितरण गरिएको हो। कार्यालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विश्वास काफ्लेका अनुसार यस अवधिमा किसानलाई न्यूनतम ८७० देखि अधिकतम पाँच करोड ५० हजार रुपैयाँसम्म अनुदान प्रदान गरिएको छ। सबैभन्दा धेरै अनुदान हुप्सेकोट–१ को जुगेपानी तामाङ टोल कृषक समूहले बाली बिमाबापत प्राप्त गरेको काफ्लेले जानकारी दिए।

कार्यालयले व्यावसायिक तरकारी खेती, फलफूल बगैँचा व्यवस्थापन तथा विस्तार, साना किसान कृषि फार्म स्थापना तथा विस्तार, मकै बीउ उत्पादन तथा प्रवर्द्धन, उन्नत कृषि प्रविधि प्रदर्शन, बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन, खाद्यान्न बाली उत्पादन प्रवर्द्धन, साना सिँचाइ कार्यक्रम, चैते धान प्रवर्द्धन, बेमौसमी तरकारी खेती प्रवर्द्धन, तेलहन बाली प्रवर्द्धन, विशेष बाली प्रवर्द्धन, कृषि यन्त्र–उपकरण खरिदलगायत विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराउँदै आएको छ। कार्यालयका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले यस वर्ष लोकमार्ग/कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन, आकस्मिक सेवा टेवा तथा राहत, बाली विशेष स्थलगत तालिम, खाद्यान्न बाली प्रवर्द्धन आयोजना, तरकारी बाली प्रवर्द्धन आयोजना तथा क्षेत्रफलका आधारमा तरकारी उत्पादन प्रवर्द्धन प्रोत्साहन कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए। त्यस्तै फलफूल बाली विकास आयोजना, फलफूल बगैँचा स्थापना तथा विस्तार, फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग, प्रविधि प्रवर्द्धन तथा सेवा, कृषि तथ्यांक सङ्कलन तथा प्रकाशन, उन्नत कृषि प्रविधि प्रदर्शन, प्रयोगशाला सेवा तथा सञ्चालन, स्थानीय तहमा कृषि शिविर सञ्चालन, उत्कृष्ट कृषकलाई पुरस्कार, बीउ उत्पादन प्रवर्द्धन आयोजना, आत्मनिर्भरताका लागि बीउ उत्पादन प्रवर्द्धन, तालिम, गोष्ठी तथा कृषि तथ्यांकसम्बन्धी कार्यक्रम पनि यस वर्ष सञ्चालन हुनेछन्।

यस वर्ष कार्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि कुल पाँच करोड १७ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएको सिलवालले बताए। अधिकांश कार्यक्रमका लागि प्रस्ताव आह्वान गरी काम सुरु गरिसकिएको र केही कार्यक्रम प्रक्रियामा रहेको उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button